
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–११ डिभर्नामा रहेको ‘रक गार्डेन’ पछिल्लो समयमा आन्तरिक पर्यटकहरूको प्रमुख आकर्षण बन्दैछ। यहाँ पर्यटकहरूको सहजता र सुविधाको लागि स्थानीय सरकारले शौचालय, विश्रामस्थल र मन्दिरलगायत पूर्वाधार निर्माण गरेको छ। सन्धिखर्क नगरपालिकाले लुम्बिनी र सुपा देउरालीबाट आउने पर्यटकलाई रक गार्डेनसम्म ल्याएर आर्थिक क्रियाकलाप विस्तार गर्ने योजना तयार पारेको छ।
सन्धिखर्कबाट करिव २० मिनेटको यात्रा गरी उक्त स्थान पुग्न सकिन्छ। प्राकृतिक रूपमा आकृतिबद्ध विशाल चट्टानहरूको सन्दलन, ढुङ्गाको बगैँचाजस्तो भू–आकृति, स्वच्छ र चिसो हावा तथा परिवर्तनशील मौसमले आउने प्रत्येक पाहुनालाई मन्त्रमुग्ध पार्दछ। रक गार्डेनमा पहिलोपटक आउने आगन्तुकहरू त्यहाँ रहेका अनौठा चट्टानहरूको बनावट देखेर चकित हुने गरेका छन्।
सन्धिखर्क नगरपालिका–११ का वडाध्यक्ष चेतनारायण आचार्यले प्रचारप्रसारका कारण पर्यटकको संख्या वृद्धि हुनु सकारात्मक संकेत भएको बताएका छन्। उनले भने, “प्राकृतिक उपहारको रूपमा अवस्थित यस क्षेत्रमा आन्तरिक पर्यटकहरूको आकर्षण बढ्दो छ। हामी यसलाई व्यवस्थित बनाउन पूर्वाधार विकासमा विशेष जोड दिएका छौं।” नगरपालिका यस स्थललाई व्यवस्थित पर्यटन गन्तव्यका रूपमा विकास गर्न योजनाबद्ध कारबाहीमा लागेको छ।
नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले भने, “रक गार्डेनलाई जिल्लाको मुख्य पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने हाम्रो लक्ष्य हो। पर्यटन विकाससँगै स्थानीय आवासीयहरूको आम्दानी वृद्धि र आर्थिक क्रियाकलापको विस्तार हाम्रो प्रमुख उद्देश्य हो।” उनले थपे, “लुम्बिनी र सुपा देउरालीमा आउने पर्यटकहरुलाई खाँचीकोट भगवती मन्दिर, राज्य, सन्धिखर्कको सिद्धेश्वर मन्दिर र अर्घा भगवतीमार्फत यहाँ ल्याउने योजना भएमा पर्यटक संख्या थपिनेछ।”






