Skip to main content

इरानी टोलीलाई खेलकै दिन अमेरिका प्रवेश र निस्कनुपर्ने कडा यात्रा नियम

फिफा विश्वकप २०२६ मा सहभागी हुने इरानी फुटबल टोलीलाई अमेरिकामा प्रवेशमा कडा यात्रा नियम लागू गरिएको छ। भिसा समस्याका कारण इरानले आफ्नो प्रशिक्षण शिविर अमेरिकाको एरिजोनाबाट सारेर मेक्सिकोको टिजुआनामा राखेको छ। राजदूत अबोलफाज पसन्दिदेहले पत्रकारहरूसँग भने, “हामी बिहान अमेरिका प्रवेश गर्न सक्छौं र त्यही दिन फर्किनुपर्छ।”

२४ जेठ, काठमाडौं। मेक्सिकोस्थित इरानका राजदूतका अनुसार टोलीलाई अमेरिकामा हुने खेलको दिन मात्र प्रवेश गर्न र सोही दिन बाहिरिन अनिवार्य गरिएको छ। शुक्रबार इरानी खेलाडीहरूले अमेरिकी भिसा पाए पनि इरान फुटबल महासंघका अध्यक्ष मेहदी ताजसहित टोलीसँग सम्बन्धित केही अधिकारीहरूलाई भिसा नदिइएको जानकारी प्राप्त भएको छ।

राजदूत पसन्दिदेहले भने, ‘हामी बिहानै अमेरिका प्रवेश गर्नेछौं र खेल सकिएपछि त्यसै दिन फर्किनुपर्नेछ।’ तर, टोलीका प्रवक्ता अमिर महदीले खेलाडीहरूलाई बहुप्रवेश भिसा दिइएको र टोली खेलअघि एक वा दुई दिन अगावै खेलस्थलमा पुग्ने बताउँदै आएका छन्। यस विषयले यात्रा व्यवस्थामा अनिश्चितता सिर्जना गरेको छ। समूह ‘जी’ मा रहेको इरानी टोलीले जुन १५ मा लस एन्जलसमा न्युजिल्यान्डसँग खेल्दै विश्वकप अभियान सुरु गर्नेछ। त्यसपछि जुन २१ मा बेल्जियमसँग तथा जुन २६ मा सियाटलमा इजिप्टसँग खेल्दै समूह चरण समाप्त गर्नेछ।