Skip to main content

रास्वपाका सभापति लामिछानेले सर्वदलीय बैठकको आह्वान गरे

रास्वपाका सभापति रवि लामिछानेले संसद्को गतिरोध अन्त्य गर्न सोमबार बिहानका लागि सर्वदलीय बैठक बोलाएका छन्। सिंहदरबारमा बस्ने बैठकमा संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख र प्रतिनिधिलाई आमन्त्रण गरिएको छ। विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्ति र सभामुखको भूमिकाप्रति असन्तुष्टि जनाउँदै निरन्तर संसद् बैठक अवरुद्ध गर्दै आएका छन्।

संसद्‌मा विपक्षी दलहरूले प्रधानमन्त्री र सभामुखका भूमिकामाथि प्रश्न उठाइरहेका छन्, जसका कारण रास्वपाका सभापति लामिछानेले सोमबार बिहानका लागि सर्वदलीय बैठकको आह्वान गरेका हुन्। समसामयिक राजनीतिक विषयहरूमा छलफल गर्न यो बैठक आह्वान गरिएको हो। रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी सूचनाअनुसार, यो बैठक संसद् सचिवालयस्थित सार्वजनिक लेखा समितिको हल, सिंहदरबार, काठमाडौंमा हुने छ।

बैठकमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका पार्टी अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधिलाई सहभागी हुन निमन्त्रणा गरिएको छ। रास्वपाले सर्वदलीय बैठकको सूचना र औपचारिक निमन्त्रणा प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई पठाइसकेको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले “नेपालले पनि भारतको भूमि मिचेको छ” भन्ने अभिव्यक्ति दिएपछि विपक्षीहरूले संसद्‌मा निरन्तर प्रश्न उठाइरहेका छन्।

यसैगरी, प्रतिनिधि सभा नियमावली पारित गर्ने लगायतका विषयमा सभामुखले खेलेको भूमिकामाथि पनि विपक्षीहरूले प्रश्न उठाइरहेका छन्। यस कारणले संसद् बैठकहरू सहज रूपमा सञ्चालन हुन सकेका छैनन्। पाँच दिनपछि सोमबार प्रतिनिधिसभाको बैठक बोलाइएको छ। उक्त बैठक सुरु हुनुअघि नै सहमति खोज्न संसदको ठूलो दलको हैसियतमा सभापति लामिछानेले यो बैठक राखेका हुन्।