
दोस्रो खुला जुडो प्रतियोगितामा नेपाल आर्मीका प्रवीण दियाली, राजु शर्मा र मोनिका चौधरीले स्वर्ण पदक जितेका छन्। जापानका राजदूत तोरु मेदा र आयोजक सरोज महर्जनले विजेता खेलाडीहरूलाई नगद पुरस्कारसहित पुरस्कार प्रदान गरे। खुशिबुँमा आयोजित एकदिने जुडो प्रतियोगितामा तीन विभागीय टोलीसहित ११ टोलीका ५२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
प्रवीण दियाली, राजु शर्मा र मोनिका चौधरीले दोस्रो खुला जुडो प्रतियोगितामा स्वर्ण पदक जितेका छन्। तीनै स्वर्ण विजेता नेपाल आर्मीका खेलाडी हुन्। खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स सेन्टर (एमएमएसी) को हलमा भएको पुरुष ७३ केजीमुनि फाइनलमा प्रवीणले आयोजक एकेडेमीका सुबोध मण्डललाई पराजित गरे। आर्मीका ताराबहादुर भुजेल र अनिल बलामी तेस्रो भए।
पुरुष १०० केजीमुनि फाइनलमा राजु शर्माले ट्राइ फोर्स जुडो क्लब, भुटानका तन्जिन दोर्जीसँग प्रतिस्पर्धा गर्दै जित हात पारे। एपीएफका निर्दोष चलाउने र आर्मीका धिरेन्द्रकुमार थारु तेस्रो स्थानमा रहे। महिला ५७ केजीमुनि मोनिकाले आर्मीकी पार्वती आचार्यलाई फाइनलमै पराजित गरिन्। पाम जुडो क्लबकी पेमा याङजी शेर्पा र एपीएफकी सुनिता थिङले कांस्य पदक जिते।
तीनै स्पर्धामा प्रथम स्थानधारीलाई ५ हजार, दोस्रो स्थानधारीलाई ३ हजार र तेस्रो स्थानधारीलाई २ हजार रुपैयाँ नगदसहित गिफ्ट ह्याम्पर प्रदान गरिएको छ। विजेतालाई जापानका राजदूत तोरु मेदा, आयोजक एकेडेमीका निर्देशक सरोज महर्जन लगायतले एक कार्यक्रमबाट पुरस्कार प्रदान गरे। एकदिने प्रतियोगितामा तीन विभागीय टोली (आर्मी, एपीएफ र नेपाल प्रहरी), भुटानका दुई क्लबसहित ११ टिमका ५२ खेलाडी उपस्थित थिए, आयोजक एकेडेमीका निर्देशक महर्जनले जनाएको छ।






