
२५ जेठ, धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनकुटाले आफ्नो प्रथम जिल्ला अधिवेशनमा भुवन थापाको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । धनकुटा नगरपालिका-५ मा अवस्थित कर्नर जोन होटलको सभाहलमा आइतबार सम्पन्न अधिवेशनले थापालाई अध्यक्ष बनाउँदा उपसभापति नारद कटुवाल, सचिव आशिष तामाङ र सहसचिव सिराज जोशी चयन गरेका छन् । कार्यसमितिका सदस्यहरुमा फडिन्द्र थापा, प्रेमबहादुर कार्की, विमला गहतराज, मनोज खड्का र पुनम गिरी राणा रहेका छन् ।
अधिवेशनले पार्टी संगठनलाई जिल्लाभर अझ सक्रिय र सुदृढ बनाउन नयाँ नेतृत्व चयन गरेको उल्लेख गरेको छ । नवनिर्वाचित सभापति थापाले पार्टीको संगठन विस्तार गर्ने, जनसरोकारका मुद्दाहरु उठाउने र सुशासन तथा विकासका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।
सभापति पदका लागि निवर्तमान सहसचिव भुवन थापा, निवर्तमान उपसभापति प्रजना राई, गत निर्वाचनमा उम्मेदवार रहेका दिनेश भण्डारी, शम्भु पाण्डे र मणि भुजेलले आकांक्षा व्यक्त गरेका थिए। तर उनीहरुबीच सहमति गरि सर्वसम्मत रुपमा नेतृत्व चयन भएको निवर्तमान सभापति बालानन्द दाहालले जानकारी दिएका छन् ।






