Skip to main content

शिशिर खनाल: भारतबाट फर्किएका परराष्ट्रमन्त्रीले भनेका ‘सीमा संयन्त्र’ के गरिरहेका छन्?

नेपाल र भारतका अधिकारीहरूले पहिले नै जनाएको जस्तै परराष्ट्रमन्त्री शिशिर खनालले पनि भारत भ्रमणपछि फर्कंदा दुई देशबीच स्थापित संयन्त्रबाटै सीमा समस्या समाधान गरिने बताए। पहिले पनि नेपाल र भारतका परराष्ट्र मन्त्रालयले सीमा समस्या ती संयन्त्रबाटै समाधान गर्ने बताएका थिए। “सीमासँग सम्बन्धित विषयहरूलाई कूटनीतिक माध्यम र अहिलेका संयन्त्रहरूमार्फत समाधान गर्ने हाम्रो पुरानो अडान हो,” भारत भ्रमणपछि आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग खनालले भने। “अहिले संयन्त्रहरू काम गरिरहेका छन्, थप संयन्त्रहरूलाई पनि सक्रिय गर्दै कूटनीतिक रूपमा समाधान गर्ने हाम्रो छलफल भएको छ,” उनले भने।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै भारत भ्रमणबाट फर्किएपछि दिल्ली गएका खनालले भारतीय विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता गरेका थिए। भारतीय विदेशमन्त्री पनि समस्या समाधानमा खुला रहेको उनले बताए। “हामी उपयुक्त संयन्त्रमा यो विषय पनि छलफल गर्नेछौं। यही हाम्रो वार्ताको भाव हो,” खनालले भने।

नेपाल र भारतबीच कस्ता कस्ता संयन्त्रहरू छन्? सन् २०१४ मा प्रधानमन्त्री बनेपछि नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा समस्या समाधानका लागि संयुक्त सीमा कार्यदल (बाउन्ड्री वर्किङ ग्रूप ‘बीडब्ल्यूजी’) गठन गर्ने सहमति गरेका थिए। नेपालको नापी विभागका महानिर्देशक र भारतको सर्वेक्षण विभागका प्रमुख रहने यो संयन्त्र सीमास्तम्भहरूको मर्मत, निर्माण र दशगजा क्षेत्र खाली गराउने सम्बन्धी कार्य गर्न गठित छ। यो संयन्त्रलाई प्राविधिक सहयोग गर्न दुवै देशका परराष्ट्रसचिवस्तरीय अर्को संयन्त्र गठन गर्ने सहमति मोदीको भ्रमणकै दौरान भएको थियो।

तर पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सचिवस्तरीय संयन्त्रको बैठक अहिलेसम्म एक पटक पनि नबसेको बताएका छन्। “अहिलेसम्म भारतको रुचि देखिएको छैन। अर्को कार्यदल सक्रिय छ तर त्यसको कार्यादेश सीमित छ,” ज्ञवालीले भने। “त्यतिबेला कार्यादेशमा नभएको र हाल बढेको भारतले एकतर्फी ढङ्गले बनाइरहेका सडक वा तटबन्धले नेपालको डुबान हुने समस्या पनि छ। सचिवस्तरको संयन्त्र सक्रिय भए यसको समाधान हुन सक्छ।”