Skip to main content

चिनियाँ राष्ट्रपति सी चिनपिङ उत्तर कोरियाको किम इल सुङ स्क्वायरमा देखिए

चिनियाँ राष्ट्रपति सी चिनपिङ र उनकी श्रीमती पेङ लियुआन कारमार्फत उत्तर कोरियाको राजधानी प्योङयाङस्थित किम इल सुङ स्क्वायरमा पुगेका छन्। चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार त्यहाँ उनीहरूको स्वागतका लागि सैन्य ब्यान्ड र ‘उत्साही जनसमुदाय’ उत्सुकतासाथ उपस्थित थिए। सो क्षेत्रमा ‘उत्तर कोरिया र चीनबीच अमर मित्रता’ र ‘उत्तर कोरिया र चीनबीचको अटुट मित्रता जिन्दावाद’ लेखिएका ब्यानरहरू झल्किरहेका थिए। उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र उनकी पत्नी री सोल जुले चिनियाँ राष्ट्रपति दम्पतीको स्वागत गरेका थिए।

राष्ट्रपति सीले उत्तर कोरियाली सेनाको कसोटी गरिएको औपचारिक एकाइ ‘कोरियन पिपुल्स आर्मी’ को ‘गार्ड अफ अनर’ निरीक्षण गरे। सो क्रममा सैनिकहरूले कोरियन भाषामा ठूलो स्वरमा ‘कमरेड सी चिनपिङको सुस्वास्थ्यको कामना गर्दछौं’ भनी नारा लगाएका थिए। सिन्ह्वाले सार्वजनिक गरेको भिडियो फुटेजमा समारोहमा सहभागी बालबालिकाहरू खुसीले उफ्रिरहेको र सर्वसाधारणको ठूलो भीडले चीन र उत्तर कोरियाका झण्डा र पुष्पगुच्छा हल्लाउँदै उत्साहजनक रूपमा स्वागत गरिरहेको देखिन्छ।

दुवै देशबीचको सम्बन्ध ‘नयाँ प्रस्थानबिन्दु’मा उभिएको भन्दै चिनियाँ राष्ट्रपति सी चिनपिङले सात वर्षपछि पहिलो पटक उत्तर कोरिया भ्रमण गर्दै बताएका छन्। प्योङयाङमा उनको भव्य स्वागत गरिएको छ। सर्वोच्च नेता किम जोङ उन र उनकी पत्नी री सोल जुले विमानस्थलमा राष्ट्रपति सीका लागि ‘रेड कार्पेट’ ओछ्याएर स्वागत गरेका थिए। सो अवसरमा चिनियाँ राष्ट्रपतिको सम्मानमा ‘गार्ड अफ अनर’ प्रदान गरियो र उपस्थित जनसमुदायले चीन र उत्तर कोरियाका झण्डा हल्लाएर स्वागत गरेका थिए।

चीनको सरकारी सञ्चार माध्यमका अनुसार राष्ट्रपति सीले दुवै देशबीचको परम्परागत सम्बन्धको प्रशंसा गर्दै वर्तमान समयमा चीन र उत्तर कोरियाले ‘समयको नयाँ जिम्मेवारी’ काँधमा बोकेको बताएका छन्।