
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको अधिवेशनबाट पुनम शर्मा सभापतिमा चयन भए तापनि नेतृत्व चयनलाई लिएर विवाद सिर्जना भएको छ। सभापतिका एक उम्मेदवार ढालेन्द्र माझीसहित केही असन्तुष्ट पक्षले नयाँ नेतृत्वलाई अस्विकार गर्दै पार्टी केन्द्रीय कार्यालयमा उजुरी दिएका छन्। उजुरी परेपछि रास्वपाले बागलुङलाई अधिवेशन सम्पन्न नभएका जिल्लाहरूको सूचीमा राखेको छ।
२५ जेठ, काठमाडौं। शनिबार सम्पन्न जिल्ला अधिवेशनले पुनम शर्मालाई सभापतिमा सर्वसम्मत् चयन गरेको थियो। तर असन्तुष्ट पक्षले उनको नेतृत्वलाई अस्वीकृत गर्दै पार्टी केन्द्रमा उजुरी दिएका छन्। सभापतिका एक आकांक्षी ढालेन्द्र माझीले भने, ‘उहाँ पार्टी संगठनमा पहिलेदेखि काम गर्ने व्यक्ति होइनन्। नयाँ व्यक्ति ल्याएर सभापति बनाइएको हो। म उनलाई चिन्दिनँ। हामीले यस विषयमा पार्टी केन्द्रलाई जानकारी गराएका छौं।’
प्रतिनिधि सभा सदस्य संघीय सांसद सोम शर्मा र सुशील खड्काको उपस्थितिमा सम्पन्न प्रथम अधिवेशनले पुनम शर्मालाई सभापतिमा नाम घोषणा गरेको थियो। हालका सभापति महेन्द्र खड्काले सर्वसम्मत् चयन भएको पुष्टि गर्दै विवाद उत्पन्न भएको बताएका छन्। उनले भने, ‘त्यो बेला सबै साथीहरू सर्वसम्मत् हुन तयार थिए। अहिले किन विवाद उठ्यो थाहा छैन।’ रास्वपाले गण्डकी प्रदेशका मनाङ र मुस्ताङ जिल्लामा अधिवेशन नगर्ने निर्णय गरिसकेको थियो। उजुरी पर्नासाथ बागलुङ जिल्ला पनि अधिवेशन सम्पन्न नगरिने जिल्लाहरूको सूचीमा थपिएको छ।






