Skip to main content

मिठो सपना

अविरल बगिरहेका छन् नदीहरू, नदीझैँ बगिरहेका छन् मनका तरङ्गहरू। म बगरमा उभिएर नदी किनारको बाटो हेरिरहेको छु, सुदूर बस्ती नियाल्दै भूमिगत यात्रा गरिरहेको छु।

मेरो यात्रा विस्मयकारी हुँदै गइरहेको छ। बन्दुकधारी मेरो पछाडि लागेका छन्, मलाई मारेर फुल फुलाउने उद्देश्यले। उनको मालिक बुर्जुवा हो, ऊ स्वतन्त्रताको विरुद्धमा बोल्छ। आवाजविहीनहरू आवाज खोजिरहेका छन्, ऊ रगतको होली खेल्छ, उलाई कुनै ग्लानि छैन। ऊ नरपिशाचको प्रतिरूप हो, उलाई झुण्ड्याउनुपर्थ्यो बुख्याँचा जस्तै खेतका कान्लामा।

म रातो किताब पढिरहेको छु, रातो क्रान्ति उठाउने गरी। म कठोर भीरमा जीवन हिँडिरहेको छु, रगतपchell पाइताला घिसार्दै। मेरो नाममा रेडकर्नर नोटिस जारी गरिएको छ, मेरो टाउकोको मूल्य तोकेको छ। मलाई देशद्रोहीको आरोप लगाइन्छ, शैतान देशद्रोह गरिरहेछ।

म सीमारेखा कोरेरहेको छु, भूगोलबाट हराएको अनाम देशको। म मान्छेहरू खोजी गर्दै छु अनागरिक बनाइएका शरणार्थी शिविरहरूमा। म ज्ञात, अज्ञात शहीदहरू सम्झिरहेको छु, न्याय प्राप्तिका लागि लड्न। शहीदहरू मुस्कुराइरहेका छन् मेरो अदम्य साहसको प्रशंसा गर्न। म शहीदको सपना बोकेर शहीदमार्गमा अगाडि बढिरहेको छु, आऊ, सपुत देशको आँसु पुछ्नलाई।

नदीहरू आफ्नै गतिमा निरन्तर बगिरहेका छन्, समुद्रमा मिल्नका लागि। मन उद्वेलित भएको छ जीवनको मिठो गीत गाउनलाई। म समाधिस्थ हुन चाहन्नँ, मलाई त सुदूर बस्ती पुग्न थियो जहाँ अबोध मान्छेहरू हराएका सपना खोजिरहेका थिए। म सपनाको बिस्कुन फिजाउँदै मिठो सपना बाँडिरहेको थिएँ।