
मेस्सीले २०२२ मा पाँचौं पटक विश्वकप खेल्दा ट्रफी जितिसकेका छन्। मेस्सीमाथि कुनै दबाब छैन। अर्कोतर्फ, रोनाल्डो त्यही विश्वकप ट्रफीको खोजीमा छन्। अहिलेसम्म रोनाल्डोले नजितेको त्यो एक मात्र ट्रफी हो। लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो सन् २०२६ को फिफा विश्वकपमा छैटौं पटक खेल्दै नयाँ कीर्तिमान स्थापित गर्ने तयारीमा छन्। साविक विजेता अर्जेन्टिनाका मेस्सी विश्वकपमा सर्वाधिक गोल गर्ने मिरोस्लाव क्लोजको कीर्तिमानभन्दा केवल तीन गोलले पछि छन्। ४१ वर्षीय पोर्चुगिज स्टार रोनाल्डो आफ्नो खेल जीवनमा पहिलो पटक फिफा विश्वकपको उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्। २५ जेठ, काठमाडौं। दुई दशकभन्दा बढी समयसम्म विश्व फुटबलमा एकछत्र शासन गर्दै आएका अर्जेन्टाइन सुपरस्टार लियोनेल मेस्सी र पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले व्यक्तिगत अवार्डदेखि गोलको कीर्तिमानसम्म सबै क्षेत्रमा नयाँ इतिहास सिर्जना गरेका छन्। यी दुईले युरोपियन लिगहरूमा सम्भव भएसम्म सबै उपाधि जिते। अहिले मेस्सी अमेरिका मेजर लिग सकरका टिम इन्टर मायामीमा खेलिरहेका छन् भने रोनाल्डो साउदी प्रो लिगमा खेलिरहेका छन्।
सन् २००६ मा पहिलो पटक विश्वकप खेलेका यी दुवै खेलाडी सन् २०२६ को विश्वकपमा छैटौं पटक भाग लिने तयारीमा छन्, जुन इतिहासमा पहिलो हुनेछ। यस पटक मेस्सी साविक विजेताको रुपमा उतरिदै छन्, जबकि रोनाल्डो उपाधिको खोजीमा छन्। ४१ वर्षको उमेरमा पनि रोनाल्डोको पोर्चुगल टोली विश्वकप विजेताको दाबेदार मानिन्छ। धेरैले आशा गरेका छन् कि मेस्सीले जिते जस्तै यस पटक रोनाल्डोले नै विश्वकप जितून्। मेस्सीले १३ गोल गरिसकेका छन् र यदि २०२६ को विश्वकपमा ३ वा ४ गोल थप गरे भने त्यो सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान हुनेछ। मेस्सीले अर्जेन्टिनाका लागि १९८ खेल खेल्दै ११६ गोल गरेका छन् र २०० खेल नजिक पुगेका छन्। विश्वकपमा मेस्सीले सर्वाधिक २६ खेल खेलेका छन्, जुन रेकर्ड छ।
रोनाल्डो, जसलाई ‘सीआर सेभेन’ भनिन्छ, ४१ वर्षको उमेरमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। युरोपमा पोर्चुगललाई युरोकप र नेसन्स लिगमा च्याम्पियन बनाइसकेको उनले इंग्ल्याण्ड, स्पेन र इटाली लिगहरू जितिसकेका छन्। हाल साउदी प्रो लिगबाट पहिलो लिग उपाधि जितेका छन्। रोनाल्डोले विश्वकपमा २२ खेल खेल्दै ८ गोल गरेका छन्। विगतका विश्वकप संस्करणहरूमा पनि निरन्तर गोल गर्दै आएका उनले सन् २०१८ मा स्पेन विरुद्ध ह्याट्रिकसहित चार गोल गरेका थिए।
दुवैले अहिलेसम्म पाँच पटक विश्वकप खेलेका छन्, तर एक अर्कालाई विश्वकपमा कहिल्यै भेटेका छैनन्। टिम सङ्ख्या ४८ पुगेका कारण र नयाँ नकआउट राउण्ड फारम्याटले यी दुईको आमनेसामने हुने सम्भावना बढाएको छ। यदि उनीहरू आफ्ना समूहमा विजेता बनेर नकआउट चरणमा प्रवेश गरे भने विश्वकपमा मेस्सी र रोनाल्डोको आमनेसामने म्याच हुने सम्भावना धेरै छ। त्यो अवस्थामा विश्वभरका फुटबल प्रेमीहरूका लागि त्यो ऐतिहासिक र प्रत्याशित खेल हुनेछ।






