Skip to main content

ट्रम्पले पत्रकार र च्यानललाई ‘बेइमान र मूर्ख’ भन्दै अन्तर्वार्ता छोडे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिष्ठित टिभी च्यानल एनबीसीसँगको अन्तर्वार्ता बीचमै छोडेर हिँडेका छन्। पत्रकार क्रिस्टिन वेल्करसँगको संवादमा उनले दिएको जवाफलाई प्रश्न गर्ने क्रममा ट्रम्पले अन्तर्वार्ता छाड्ने निर्णय गरेका हुन्। उनले सञ्चारमाध्यम, पूर्व राष्ट्रपति जो बाइडेन, र क्यालिफोर्नियाको निर्वाचन प्रणालीमाथि कडा टिप्पणी गर्दै गम्भीर असन्तोष व्यक्त गरे। एनबीसीन्यूजको ‘मिट द प्रेस’ कार्यक्रममा ट्रम्पले सञ्चारमाध्यमलाई ‘फेक, फोहोर र बेइमान’ भने।

ट्रम्पले पूर्व राष्ट्रपति जो बाइडेन र उनको प्रशासनलाई ओभल अफिसको दुरुपयोग गरेर जनजीवन विनाश गर्ने र निर्दोषलाई जेल हाल्ने आरोप लगाए। उनले बाइडेनलाई ‘मूर्ख’ भन्दै भने, “उनी वरिपरिको परिस्थितिबारे हेपिएका छन्, तर उनलाई घेरेका मानिसहरूले जनजीवन नष्ट पारेका छन्।”

चुनाव ‘धाँधलीयुक्त’ भएको आरोपप्रति पत्रकारले प्रमाण मागेपछि ट्रम्पले त्यस्ता प्रमाण भएको दाबी गरे। सन् २०२० को राष्ट्रपतीय चुनाव र हाल क्यालिफोर्नियामा भइरहेको मतदान प्रक्रियामा व्यापक धाँधली भएको उनले आरोप लगाए। विशेष गरेर मत गणना ढिलो भएको कारण त्यहाँ धोखाधडी भईरहेको बताए। जब पत्रकारले यस्ता दाबी प्रमाणित गर्न प्रमाण मागे, ट्रम्प आक्रोशित भए र प्रश्नमा तनाव उत्पन्न भयो। “तपाईंको दाबीलाई समर्थन गर्ने प्रमाण छैन,” पत्रकारले भनेकी थिइन्। तर ट्रम्पले भने, “त्यहाँ प्रशस्त प्रमाण छन्, केवल हेर्नु पर्ने हो।”

अन्तर्वार्ताकारले प्रमाणको अभाव जनाएपछि ट्रम्पले व्यक्तिगत आक्रमण बढाए। उनले भने, ‘‘तिमी बेइमान हौ वा मूर्ख, दुबै मध्ये एक। तिमी उनीहरूको इसारामा नाच्दैछौ। तिम्रो च्यानललाई थाहा छ चुनावमा धाँधली भएको छ।’’ आफ्नो अभूतपूर्व जित पछिको मिडियाको अधिकांश नकारात्मक रिपोर्टिङप्रति ट्रम्पले एनबीसी र सीएनएनजस्ता मिडियालाई राष्ट्रहितविपरीत र अप्रमाणित आरोप लगाएका थिए। अन्तमा उनले भने, ‘‘हाम्रो देश यस्तो बेइमान प्रेसले कहिल्यै महान् बन्न सक्दैन।’ अमेरिकी चुनाव प्रणालीलाई तेस्रो विश्वकै जस्तो ठानेर क्रोधित मुद्रामा ट्रम्प अन्तर्वार्ता छोडेर बाहिरिए।