Skip to main content

प्रधानमन्त्री शाहले सदनमा जबाफ नदिने अडान कायम, विपक्षी दलको विरोध जारी

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले विपक्षी दलहरूलाई सदनमा जबाफ नदिने अडान कायम राख्दा विगत एक सातादेखि जारी सदन अवरोध खुलाउने प्रयासमा सोमवार पनि प्रगति भएन। प्रधानमन्त्री शाहले पार्टी सभापति रवि लामिछाने र अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत् आफू सदनमा प्रष्टीकरण दिन नजाने सन्देश पठाएको नेताहरूले बताएका छन्।

सोमवार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकमा दलका नेताहरूलाई सरकारका काम कारबाहीबारे पनि सुझाव दिन भनिएको थियो। बैठकमा विपक्षी दलले “नेपालले पनि भारतको जग्गा मिचेको” भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिबारे सदनमा जबाफ दिन माग गरे। प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै विपक्षी दलहरूले एक साताभन्दा लामो समयदेखि संसद्का दुवै सदनमा अवरोध गरिरहेका छन्।

“यो अत्यन्तै गम्भीर विषय भएकाले प्रधानमन्त्री नै संसद्‌मा आएर जबाफ दिनुहोस् भन्यौँ,” बैठकमा उपस्थित नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले भने। सदनमा परराष्ट्रमन्त्रीले जबाफ दिएपछि “आवश्यक पर्‍यो भने मात्रै प्रधानमन्त्री जबाफ दिन आउने” लामिछानेले बताएको महरले बताए। यसअघि गएको बुधवार राष्ट्रिय सभामा विपक्षी दलका नेताहरूको छलफलमा पनि अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रधानमन्त्री जबाफ दिन नआउने बताएका थिए।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री शाहले संसद्‌मा सीमा समस्याबारे बोलेका प्रसङ्ग उल्लेख गर्दै सरकारलाई कूटनीतिक मामलामा संयमित हुन भनेका थिए। “प्रारम्भमै नियन्त्रण र सन्तुलनको व्यवस्था भत्काउने लक्षणहरू देखिएका छन् त्यो राम्रो छैन त्यसमा ध्यान पुगोस्,” उनले भने।