
नेपाली क्रिकेट टोलीका कुशल भुर्तेललाई एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको ‘प्लेयर अफ द सिरिज’ घोषित गरिएको छ। भुर्तेलले प्रतियोगिताका ४ खेलमा २ शतक र १ अर्धशतकसहित कुल ३४० रन बनाएर उत्कृष्ट प्रदर्शन गरेका छन्। वर्षाले प्रभावित फाइनल खेलमा नेपालले हङकङलाई डीएलएस पद्धतिले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको छ। २५ जेठ, काठमाडौं। नेपाली क्रिकेट टिमका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल एसियन गेम्स पुरुष क्रिकेट छनोटको ‘प्लेयर अफ द सिरिज’ घोषणा भएका छन्। भुर्तेलले उत्कृष्ट ब्याटिङ गर्दै ४ खेलमा २ शतक र १ अर्धशतकसहित ३४० रन बनाए। उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी रहेका छन्। चीनविरुद्धको पहिलो खेलमा ४३ बलमा १२९ रन बनाए, जसमा उनले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए। मलेसियासँगको दोस्रो खेलमा ५४ बलमा १२६ रन बनाएर निरन्तर दुई शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बने। ओमानविरुद्धको सेमिफाइनलमा उनले २० रन बनाए भने सोमबार हङकङसँगको फाइनलमा ४० बलमा ६५ रन बनाएर जितको आधार तयार पार्दै उत्कृष्ट भूमिका निर्वाह गरे। वर्षाले प्रभावित फाइनल खेलमा नेपालले हङकङलाई डीएलएस पद्धति अनुसार पराजित गर्दै उपाधि जित्न सफल भयो।






