
नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा नवौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता जेठ ३० र ३१ गते काठमाडौंको हाँडिगाउँस्थित यमबुद्ध स्केटपार्कमा आयोजना हुन लागेको छ। संघले सोमबार पत्रकार सम्मेलनमार्फत प्रतियोगितामा देशभरबाट छनोट भएका करिब ४ सय खेलाडीको सहभागिता रहने जानकारी गराएको छ। प्रतियोगितामा २५० पुरुष र १५० महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। संघका अध्यक्ष अच्युत खनालका अनुसार खेलाडीहरू जिल्ला तथा प्रदेश स्तरबाट छनोट भएर आउने छन् भने केही खेलाडीले व्यक्तिगत रूपमा अनलाइन दर्ता गरी सहभागिता जनाउनेछन्।
दुई दिनसम्म चल्ने प्रतियोगिताको पहिलो दिन छनोट चरणका खेल हुनेछन् भने दोस्रो दिन फाइनल प्रतिस्पर्धा आयोजना गरिनेछ। प्रतियोगितामा स्केटबोर्डिङको फ्रिस्टाइल विधाअनुसार ‘बेस्ट ट्रिक’ र ‘बेस्ट रन’ मा प्रतिस्पर्धा हुनेछ। साथै ‘स्केटबोर्डर अफ द इयर’ को घोषणा पनि गरिनेछ, संघले जनाएको छ। प्रतियोगितामा सिनियर पुरुष तथा महिला दुबै तर्फ विजेताले ३० हजार रुपैयाँ, उपविजेताले २० हजार रुपैयाँ र तेस्रो स्थान हासिल गर्नेले १५ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। जुनियर पुरुष तथा महिला दुबै तर्फ प्रथम हुनेले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेलाई ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
संघका महासचिव सत्य थापाले प्रतियोगिताले २०औं एसियाली खेलकुदमा खेलाडी छनोट प्रक्रियामा सहयोग पुर्याउने बताए। उनका अनुसार एसियन गेम्सका लागि दुई खेलाडी अन्तिम छनोटमा पर्नेछन्। यसअघि गजेन्द्र बर्देवा, शरदकुमार राई, वसन्त राई र खुशी विकको नाम लङलिस्टमा समावेश भइसकेको छ। संघले प्रतियोगिताको कुल बजेट २१ लाख रुपैयाँ रहेको उल्लेख गर्दै विभिन्न प्रायोजकहरूसँग सहकार्य भइरहेको र काठमाडौं बाहिरबाट आउने खेलाडीहरूको खानपिन तथा बसाइबसाउको व्यवस्थासमेत गरिएको जानकारी गराएको छ। राष्ट्रिय खेलकुद परिषद्मा २०७० सालमा दर्ता भएयता नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघले देशका विभिन्न सहरमा राष्ट्रिय प्रतिस्पर्धा आयोजना गर्दै आएको छ। यसअघि विराटनगर, बुटवल, पोखरा र काठमाडौंमा राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएका छन्।






