
फिफा विश्वकपअघि भएको अन्तिम मैत्रीपूर्ण खेलमा स्पेनले पेरुलाई ३-१ ले पराजित गर्यो। मेक्सिकोको पुएब्लामा सोमबार राति भएको खेलमा स्पेनका लागि मिकेल ओयार्जाबाल र पेड्रीले गोल गरे भने पेरुका गोलकिपर पेड्रो गालेसेले आत्मघाती गोल गरे। पेरुका जाइरो भेलेजले सान्त्वना गोल गरे। खेलको दोस्रो मिनेटमै ओयार्जाबालले गोल गर्दै स्पेनले अग्रता लियो। ३२ औं मिनेटमा फेरान टोरेसको क्रसमा पेड्रीले खाली पोष्टमा बल छिराउँदै अग्रता दोब्बर बनाए।
दोस्रो हाफको सुरुमै यरेमी पिनोको क्रस क्लियर गर्ने क्रममा गोलकिपर गालेसेले गराएको गल्तीबाट स्पेनले तेस्रो गोल थप्यो। भेलेजले एक गोल फर्काए पनि पेरुलाई हारबाट बचाउन सकेनन्। पुएब्ला रंगशालामा हजारौं दर्शकको उपस्थितिमा भएको खेलमा विश्वकपको माहोल स्पष्ट देखिएको थियो। स्पेनका र बार्सिलोनाका जर्सी लगाएका समर्थकले रंगशालालाई भरिपूर्ण बनाएका थिए। पेड्री, रोड्री र फेरान टोरेसलाई सबैभन्दा बढी समर्थन प्राप्त भयो भने समर्थकहरूले विभिन्न गीत गाएपछि ‘मेक्सिकन वेभ’ समेत गरेका थिए। स्पेनले आगामी जुन १५ मा केप भर्डेविरुद्ध आफ्नो विश्वकप यात्रा सुरु गर्नेछ। समूह एचमा स्पेनसँगै साउदी अरेबिया र उरुग्वे पनि छन्।






