चीनमा विश्वकै सबैभन्दा ठूलो इनल्यान्ड सिप लक सहित विशाल जलमार्ग परियोजनाको निर्माण सुरु

चीनले याङ्त्जे नदीमा विश्वकै सबैभन्दा ठूलो इनल्यान्ड सिप लक सहित ‘थ्री गर्जेज नयाँ जलमार्ग परियोजना’ को निर्माण कार्य सुरु गरेको छ। ७७.२ अर्ब युआन लागतको यस आयोजनाले जलमार्गको वार्षिक ओसारपसार क्षमता लगभग दोब्बर गरी ३३ करोड ६० लाख टन पुर्याउनेछ। चीनको १५औँ पञ्चवर्षीय योजना अन्तर्गत सम्पन्न हुने यो राष्ट्रिय गौरवको आयोजना पूरा हुन ९ वर्षभन्दा बढी समय लाग्नेछ।
चीनले विश्वको तेस्रो सबैभन्दा लामो नदी याङ्त्जेमा बढ्दो ढुवानी मागलाई सम्बोधन गर्न एक विशाल जलमार्ग परियोजनाको निर्माण कार्य सुरु गरेको छ। यस परियोजनामा विश्वकै सबैभन्दा ठूलो इनल्यान्ड सिप लक बनाइनेछ। चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका स्थायी समितिका सदस्य र उपप्रधानमन्त्री डिङ सुएस्याङले चीनको हुबेई प्रान्तको यिचाङमा आयोजना भएको एक विशेष समारोहमा ‘थ्री गर्अेज नयाँ जलमार्ग परियोजना’ को निर्माण कार्य औपचारिक रूपमा शुरू गरेका छन्।
७७.२ अर्ब युआन (करिब ११.३ अर्ब अमेरिकी डलर) लागतमा बन्न लागेको यस परियोजनामा विश्वकै सबैभन्दा ठूलो जल संरक्षण आयोजना ‘थ्री गर्जेज बाँध’ को उत्तरी क्षेत्रमा पाँच-तहको, दोहोरो ट्र्याक भएको नयाँ सिप लक थपिनेछ। परियोजना सम्पन्न भएपछि थ्री गर्जेजको वार्षिक सामान ओसारपसार क्षमता लगभग दोब्बर भएर ३३ करोड ६० लाख टनसम्म पुग्नेछ। चिनियाँ एकेडेमी अफ इन्जिनियरिङका प्राज्ञिक निउ सिनकियाङका अनुसार यस परियोजनाले जहाजको आकार, च्याम्बर चौडाई र माटो उत्खनन कार्यका हिसाबले विश्व कीर्तिमान स्थापित गर्नेछ।
परियोजनाको डिजाइनमा वातावरण संरक्षणलाई प्राथमिकता दिइएको छ, जसमा माछाहरूका लागि छुट्टै मार्ग (फिस प्यासेज) समावेश गरिएको छ जुनले जलचर र माछाहरूको जीवनचक्रमा न्यूनतम असर पार्नेछ। यो चीनको १५औँ पञ्चवर्षीय योजना अवधिमा सुरु भएको पहिलो ठूलो राष्ट्रिय गौरवको आयोजना हो। याङ्त्जे नदी आर्थिक क्षेत्रले पश्चिमी पहाडि भूभागदेखि पूर्वी तटसम्मका ११ प्रान्त क्षेत्रहरू समेटेको छ र चीनको कुल गार्हस्थ्य उत्पादनको लगभग आधा भाग ओगट्छ।
नदीमा काम गर्ने जहाजका चालकहरूका लागि पनि यस परियोजनाले प्रतिक्षा समय र ढुवानी लागत दुवै घटाउनेछ। विगत दुई दशकदेखि याङ्त्जे नदीमा कन्टेनर जहाज सञ्चालन गर्दै आएका क्याप्टेन जियाङ जोङ्जिनले नयाँ जलमार्ग बन्ने भएपछि कम्पनीहरूको विलम्ब शुल्क जोगिने र आफूहरू पनि समयमै घर फर्कने भएपछि खुसी व्यक्त गरे।






