Skip to main content

काभा पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपाली टोलीमा ६ नयाँ खेलाडीहरू सामेल

नेपाल भलिबल संघले पाकिस्तानमा हुने काभा पुरुष भलिबल च्याम्पियनसिपका लागि १२ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ। असार १७ देखि २३ गतेसम्म पाकिस्तानको इस्लामावादमा सम्पन्न हुन लागेको प्रतियोगिताका लागि घोषित टोलीमा ६ जना नयाँ खेलाडीहरू समावेश छन्। नयाँ अनुहारका रूपमा सन्तोष विक, सरोज बर्देवा, राजेन्द्र धामी, सुरज चुनारा, हिमाल सुनारी र दिपेश कुँवर राष्ट्रिय टोलीमा परेका छन्।

नेपाल भलिबल संघले काठमाडौंमा २६ जेठमा काभा पुरुष भलिबल च्याम्पियनसिप–२०२६ का लागि १२ सदस्यीय टोली घोषणा गरेको हो। पाकिस्तान भलिबल फेडेरेसनको आयोजनामा असार १७ देखि २३ गते (जुलाई १–७) सम्म इस्लामाबादमा सञ्चालन हुने प्रतियोगितामा ६ नयाँ खेलाडीलाई समावेश गरिएको छ।

राष्ट्रिय टोलीमा पहिलो पटक सन्तोष विक, सरोज बर्देवा, राजेन्द्र धामी, सुरज चुनारा, हिमाल सुनारी र दिपेश कुँवर परेका छन्। बाँकी ६ खेलाडी भने गत वर्ष बंगलादेशमा भएको काभा पुरुष नेसन्स कपमा खेलेका टोलीका सदस्यहरू नै हुन्। घोषित टोलीमा सुनिल बोहरा, पहल गहतराज, सन्तोष विक, सरोज बर्देवा, राजेन्द्र धामी, सुरज चुनारा, नृपध्वज बस्नेत, रबिन नगरकोटी, हिमाल सुनारी, हरिहजुर थापा, दिपेश कुँवर र विनोद चन्द रहेका छन्।