रुपन्देहीमा भूमि अधिकार रक्षक युवा दस्ता गठन, सौगात न्यौपाने संयोजक नियुक्त

रुपन्देहीमा सौगात न्यौपानेको संयोजकत्वमा ५१ सदस्यीय भूमि अधिकार रक्षक युवा दस्ता गठन गरिएको छ। भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि डोजर आतङ्क र विस्थापनको बिरुद्ध सशक्त प्रतिवाद गर्न यो दस्ता गठन गरिएको हो। भूमि अधिकार सुनिश्चित गर्न र न्यायका लागि देशका अन्य जिल्लामा पनि यस्ता युवा दस्ता गठन गरिने संरक्षण समितिले जानकारी दिएको छ। २६ जेठ, बुटवल।
मङ्गलवार बुटवलमा भएको युवा भेलाले सौगात न्यौपानेलाई संयोजक र युवराज ढकाललाई सहसंयोजक चयन गर्दै ५१ सदस्यीय समिति गठन गरेको छ। भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि सरकारबाट हुन सक्ने डोजर आतङ्क र विस्थापन तथा सरकार पक्षका व्यक्ति, समूहहरूद्वारा गरिँदै आएको अपमानजनक व्यवहार र गतिविधिको सशक्त प्रतिवाद गर्ने उद्देश्यले यो युवा दस्ता गठन गरिएको संयोजक न्यौपानेले बताएका छन्।
‘भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि सरकारले संविधान, अदालत र मानवअधिकार उल्लङ्घन गर्दै एकतिर बस्ती विस्थापन गरिरहेको छ। सरकारको दमनका कारण केही व्यक्तिहरूले आत्महत्या पनि गरिसकेका छन्,’ उनले भने, ‘अर्कोतर्फ सरकार पक्षका व्यक्ति र समूहहरूले वर्षौंदेखि बसोबास गर्दै आएका ती बस्तीका नागरिकमाथि अपमानजनक व्यवहार गर्दै सामाजिक सञ्जालमा नकरात्मक टिप्पणी गरेर जनतामा पीडा पुर्याइरहेका छन्। यी सबै गतिविधिको विरुद्ध कानुनी तथा सामाजिक लडाइँ लड्न युवा दस्ता गठन गरिएको छ।’
न्यौपानेले थपे, ‘अघिल्ला सरकारले मापन गरेको, कर लिइरहेका र टोकनसमेत दिएका जग्गाको तुरुन्त जग्गाधनी प्रमाणपत्र वितरणको काम अघि बढाउन सरकारसँग हाम्रो आग्रह छ। यदि भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीमाथि अन्यायपूर्ण विस्थापन रोकिएन भने सशक्त प्रतिवाद हुनेछ।’ सहसंयोजक युवराज ढकालले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई अतिक्रमणकारी र अपराधीको रुपमा देखाउने तथा अनावश्यक गतिविधि गर्नेहरूविरुद्ध अनुसन्धान गरी कानुनी प्रक्रिया अपनाउन युवा दस्ताले छुट्टै उपसमिति बनाउने जानकारी दिए।
गत जेठ ३ र ४ गते बुटवलमा सम्पन्न राष्ट्रिय सम्मेलनबाट गठन भएको ‘नेपाल भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासी संरक्षण समिति’ अन्तर्गत यो युवा दस्ता गठन गरिएको संरक्षण समितिका सल्लाहकार वीरेन्द्र विकले बताए। युवा भेलालाई सम्बोधन गर्दै सल्लाहकार विकले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि विभिन्न नाममा भइरहेको डोजर आतङ्क र जबर्जस्ती विस्थापनको विरुद्ध सबै पीडित समुदाय एकताबद्ध हुन आवश्यक रहेको भन्दै युवा दस्ता गठन गरिएको जानकारी दिए।
संरक्षण समितिका संयोजक खगेन्द्र पौडेल, अव्यवस्थित बसोबासी अगुवाहरू वीरमान लामा, राजकुमार भट्टराई, ज्योति जीसी लगायतले भूमि अधिकार सुनिश्चितता, बस्तीमाथिको अन्यायपूर्ण हस्तक्षेपको प्रतिरोध तथा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको हकअधिकार संरक्षणका लागि सबै समस्या भएका जिल्लामा युवा दस्ता गठन गरिने बताएका छन्।






