
नेपालको कुल विदेशी विनिमय सञ्चिति चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा हालसम्मकै उच्च ३७ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्षको वैशाखसम्म १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन गत वर्षको तुलनामा ४१.२ प्रतिशतले बढी हो। आर्थिक सुस्तताका कारण बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा वृद्धिदर घटेर ५.७ प्रतिशतमा सीमित भएको छ। २६ जेठ, काठमाडौं। आर्थिक गतिविधिमा सुधार नआए पनि अर्थतन्त्रका सबै सूचकहरू सबल देखिएका छन्। मूल्यवृद्धि र निजी क्षेत्रको कर्जा वृद्धिदर बाहेक अरू सबै सूचकहरू हालसम्मकै बलियो अवस्थामा छन्।
पश्चिम एसियामा तनावका कारण पेट्रोलियम पदार्थको मूल्य बढ्दा उपभोक्ता मूल्यवृद्धि सामान्य वृद्धि भएको छ। त्यस्तै, सुस्त गतिमा रहेको अर्थतन्त्र र समग्र बजार मागमा आएको कमीका कारण बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा जाने कर्जा वृद्धिदर घटेको केन्द्रीय बैंकले जनाएको छ। त्यस बाहेक विदेशी विनिमय सञ्चिति, रेमिट्यान्स, चालु खाता, आयात लगायत अर्थतन्त्रका अधिकांश सूचकहरू बलियो अवस्थामा रहेको राष्ट्र बैंकको भनाइ छ। राष्ट्र बैंकका अनुसार, चालु आर्थिक वर्ष वैशाखसम्म विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च ३७ खर्ब नाघेको छ।
२०७८ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३८.३ प्रतिशतले वृद्धि भई २०७९ वैशाख मसान्तमा ३७ खर्ब ४ अर्ब ५५ करोड पुगेको हो। चालु आवमा रेमिट्यान्स निरन्तर सुधारका कारण विदेशी विनिमय सञ्चिति बढेको हो। त्यस्तै, आर्थिक सुस्तताका कारण आयात अपेक्षित सुधार नहुँदा विदेशी सञ्चिति उच्च हुन पुगेको केन्द्रीय बैंकले जनाएको छ। आव २०७८/७९ को १० महिनासम्मको आयात आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २२.६ महिनाको वस्तु आयात र १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ।
२०७९ वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः ६०.७ प्रतिशत, १५९.७ र ४३.३ प्रतिशत छन्। २०७८ असार मसान्तमा ती अनुपात क्रमशः ४३.८, १२८.१ र ३४.१ प्रतिशत थिए। त्यस्तै, वैशाख महिनामा हालसम्मकै धेरै २ खर्ब ५७ अर्ब रेमिट्यान्स आएको छ। अमेरिकी डलरसँग तुलना गर्दा भारु कमजोर भए पनि रेमिट्यान्स बढ्न मद्दत पुगेको केन्द्रीय बैंकले जनाएको छ। नेपालबाट निर्यात हुने प्रविधि सेवामा सुधार आएपछि पनि रेमिट्यान्स आप्रवाह बढ्न मद्दत पुगेको राष्ट्रिय बैंकका अधिकारीहरूको बुझाइ छ।
चालु आव वैशाखसम्म १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ। यो रकम गत आव सोही अवधिको तुलनामा ४१.२ प्रतिशत बढी हो। गत आव सोही अवधिमा यस्तो आप्रवाह १३ खर्ब ५७ अर्ब थियो। चालु आव सोही अवधिमा खुद द्वितीय आय २० खर्ब ९१ अर्ब ८६ करोड पुगेको छ भने गत आव सोही अवधिमा त्यो आय १४ खर्ब ८० अर्ब २८ करोड थियो। केन्द्रीय बैंकका अनुसार चालु आव वैशाखसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा १.६ प्रतिशत घटेको छ। अर्थतन्त्रमा आएको सुस्तताका कारण समग्र मागमा आएको कमीले वित्तीय क्षेत्रको कर्जा प्रवाहमा प्रभाव पारेको हो। चालु आव १० महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा ५.७ प्रतिशतले वृद्धि भएको छ। गत आव सोही अवधिमा यस कर्जा प्रवाह ७.३ प्रतिशतले बढेको थियो। चालु आव वैशाखसम्म बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रमा कुल ३ खर्ब १२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। गत आव सोही अवधिमा यस्तो कर्जा लगानी ३ खर्ब ६८ अर्ब रहेको छ, राष्ट्र बैंकले जनाएको छ।
त्यसैगरी २०७९ वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०४ प्रतिशत छ। गत आव सोही महिनामा यस्तो मुद्रास्फीति २.७७ प्रतिशत थियो। चालु आव वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.६३ प्रतिशत छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ। चालु आव सोही अवधिमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिले मुद्रास्फीति बढाएको छ। यो नतिजा आर्थिक गतिविधि बढेर वा वित्तीय क्षेत्रको कर्जा लगानी सुधार भएका कारण नभएको एक केन्द्रीय बैंकका अधिकारीले बताए।






