
२७ जेठ, काठमाडौं । क्यानडाको एयरलाइन एयर क्यानडाका पूर्व पाइलट जियोफ्री वालमाथि नक्कली लाइसेन्सको आधारमा १७ वर्षसम्म व्यावसायिक उडान भरिएको आरोप लागेको छ। डेपुटी चिफ निक मिलिनोविचका अनुसार, आरोपीले हजारौं यात्रुहरूको सुरक्षा खतरामा पारेका छन्। प्रहरीले वालमाथि ५ हजार डलरभन्दा बढीको ठगी, सार्वजनिक उपद्रव, नक्कली कागजात प्रयोग र नक्कली प्रमाणपत्र राख्ने आरोप लगाएको छ। ५९ वर्षीय वाललाई १ जुनमा पक्राउ गरिएको थियो।
ट्रान्सपोर्ट क्यानडाको अनुसन्धानमा कागजातहरूमा अनियमितता देखिएपछि यो मुद्दा सार्वजनिक भएको हो। प्रहरीले जनाएको छ कि वालले सन् १९९८ मा आफ्नो उड्डयन करियर सुरु गरेका थिए र सन् २००९ मा नक्कली प्रमाणपत्रको आधारमा पाइलट-इन-कमाण्ड अर्थात् क्याप्टेन बन्न सफल भएका थिए। त्यसपछि उनी वर्षौंसम्म हजारौं यात्रु बोकेर उडान भरिरहेका थिए। गत वर्ष पियर्सन हवाईअड्डामा ट्रान्सपोर्ट क्यानडाको नियमित अपरेशनल जाँचका क्रममा उनका कागजातहरूमा अनियमितता देखिएपछि मात्र यो रहस्य खुलेको हो।
त्यसपछि ‘प्रोजेक्ट इकारस’ नामक विस्तृत अनुसन्धान सुरु गरिएको थियो। अहिले अनुसन्धान एजेन्सीहरूले आरोपीले कसरी नक्कली कागजात तयार गरे र यस्तो लामो समयसम्म प्रणालीको निगरानीबाट कसरी बच्न सके भन्ने विषयमा अनुसन्धान गर्दैछन्। (एजेन्सीहरूको सहयोगमा)

