फिफा विश्वकप २०२६: समूह विजेताका रूपमा ठूला टिमहरू क्वाटरफाइनलमा मात्रै भेट्ने सम्भावना

यस पटक फिफाले नकआउट चरणको ब्राकेट निकै सोच-विचार गरी तयार गरेको छ। शीर्ष वरियताका टोलीहरू समूह विजेता बनेको खण्डमा नकआउट चरणमा केही पछि मात्रै भेट्ने सम्भावित खेल तालिका तय गरिएको छ। २७ जेठ, काठमाडौं । विश्वकप फुटबल फेरि उत्तर अमेरिकामा फर्किएको छ। उत्तर अमेरिकाका तीन राष्ट्रहरू मिलेर २१औं शताब्दीमा पहिलोपटक फिफा विश्वकप २०२६ आयोजना गर्दैछन्। विश्व फुटबलको महाकुम्भको २३औं संस्करण सुरु हुन अब एक दिन मात्र बाँकी छ। अहिले सारा विश्वका फुटबल प्रेमीहरूको ध्यान अमेरिका, मेक्सिको र क्यानडातिर केन्द्रित छ। मेक्सिकोले ४२ वर्षपछि र अमेरिकाले ३२ वर्षपछि फिफा विश्वकप आयोजना गर्न लागेको छ भने क्यानडा पहिलो पटक विश्वकप आयोजक बन्न लागेको छ। अहिलेसम्मकै बढी ४८ टिमले पहिलोपटक विश्वकप खेल्दैछन्। तीन राष्ट्र मिलेर कीर्तिमानी १०४ खेल आयोजना गर्नेछन्। फिफा विश्वकपको ट्रफी चुम्ने उद्देश्यसहित ४८ टोली ११ जुनदेखि मैदानमा प्रतिस्पर्धा गर्नेछन्। सबैको सपना त्यही ट्रफी जित्ने नै छ। त्यसैले अहिले सबैको मनमा एउटै प्रश्न छ – फिफा विश्वकप २०२६ को उपाधि कसले जित्ला? यो प्रश्न सामान्य जस्तो लाग्दा पनि जटिल छ किनभने अहिले कसले विजेता बन्ने सुनिश्चित भन्न गाह्रो छ। धेरैले भविष्यवाणी पनि गर्छन् र समर्थकहरूले आफ्ना-आफ्ना टिमको दाबी राख्छन्। फुटबल विशेषज्ञहरू खेलाडीहरूको प्रदर्शन विश्लेषण गर्दै यो टिमले जित्ने संकेत गर्छन्। अझ एक कदम अघि बढेर अहिले एआई समेत विश्वकपको सम्भावित विजेताको भविष्यवाणी गर्न थालेको छ। यसरी भविष्यवाणी र समर्थकहरूको दाबीहरू भइरहेका छन्। यसको जवाफ पाउन विश्वकपको २३औं संस्करणको फाइनल १९ जुलाईसम्म प्रतिक्षा गर्नु पर्नेछ।
यस पटक सहभागी टिम संख्या ३२ बाट ४८ पु¥याएपछि विश्वकपको फर्म्याटमा परिवर्तन आएको छ र टिमहरूले नकआउट चरणमा थप एक खेल खेल्नुपर्ने छ। ४८ टोलीलाई १२ समूहमा विभाजन गरिएको छ। १२ समूहका विजेता र उपविजेता बाहेक, तेस्रो स्थानमा रहेका उत्कृष्ट ८ टोली पनि नकआउट चरणमा पुग्ने भएका कारण असली मज्जा नकआउट चरणबाटै सुरु हुनेछ। फिफाले नकआउट चरणको ब्राकेट सोच-विचार गरी तयार गरेको छ। शीर्ष वरियताका टोलीहरूले समूह विजेता बनेमा नकआउट चरणमा केही पछि मात्रै भिडन्त हुने सम्भावना रहेको छ। यसले ठूला टिमहरू चाँडै बाहिरिनु र ठूला टिमबीचको प्रारम्भिक भिडन्त नहुने सम्भावना बढाएको फुटबल विशेषज्ञहरूको भनाइ छ। विश्वकप खेल्ने ४८ टोलीमध्ये ३२ टोली नकआउट चरणमा प्रवेश गर्नेछन्। १२ समूहको अन्तिम स्थानमा पर्ने १२ टोली र तेस्रो स्थानमा ४ टोली मात्र समूह चरणबाट बाहिरिनेछन्। तेस्रो स्थानको ८ टोली समूह चरण पार गर्ने भएका कारण समूह चरणका खेल, ठूला र साना टिमहरूको प्रदर्शन कस्तो हुने छ भन्ने विषयमा धेरैको जिज्ञासा छ। यसले समूह चरणका खेलहरू कम प्रतिस्पर्धात्मक बन्न सक्ने सम्भावना पनि बढाएको छ। धेरै टोली हार्न चाहँदैनन्। जस्तै कुनै टोलीले सबै ३ खेल गोलरहित बराबरी खेले पनि ३ अंक जोडेर समूहबाट अघि बढ्न सक्छ। यसले खेलको रोमाञ्चकता घट्ने जोखिम छ। ठूला टिमहरूको भिडन्त कुन चरणमा हुनेछ? यस पटक तीन टिम तीनै आयोजक भएका कारण फिफाले शीर्ष ९ वरियताका टोली र ३ आयोजकलाई फरक समूहमा राखेको छ। शीर्ष ९ वरियताका ठूला र उपाधिको दाबेदार टोलीहरू फरक-फरक समूहमा छन्। उदाहरणका लागि, साविक विजेता अर्जेन्टिना जे समूहमा, उपविजेता फ्रान्स आई समूहमा, स्पेन एच, ब्राजिल सी, पोर्चुगल के, इंग्ल्यान्ड एल समूहमा छन्। नकआउट चरणको ब्राकेट यसपटक केही फरक हुनेछ। शीर्ष टोलीहरू समूह विजेता बनेमा यी टोलीहरूले क्वाटरफाइनलसम्म पुगेर मात्र एक-अर्कासँग भिड्ने सम्भावना रहन्छ। उदाहरणका लागि, यदि अर्जेन्टिना र पोर्चुगल दुवै आफ्नो समूह विजेता बने क्वाटरफाइनलमा मात्रै भेट हुनेछन्। यदि अर्जेन्टिना, इंग्ल्यान्ड र पोर्चुगल समूह विजेता बने, यीमध्ये दुई टोली मात्र सेमिफाइनल पुग्नेछन्। यदि अर्जेन्टिना, ब्राजिल, इंग्ल्यान्ड र पोर्चुगल समूह विजेता बने भने यी चार टोलीमध्ये एकै टोली फाइनल पुग्नेछ, वा कमजोर टोलीहरूले पराजित गरेमा त्यही टिम फाइनल पुग्नेछ। यदि यी टिमहरूले समूहमा शीर्ष स्थान पाउन सकेनन् भने नकआउट चरणको ब्राकेट फरक हुनेछ। साविक उपविजेता फ्रान्स, पूर्व विजेता स्पेन, जर्मनी, बेल्जियम र नेदरल्यान्ड्स जस्ता टिमहरू समूह विजेता बनेमा यीमध्ये पनि एकै टिम फाइनल पुग्नेछन्। यदि फ्रान्स र स्पेन समूह विजेता बने भने यी दुई सेमिफाइनलमा भेट्नेछन्। फ्रान्स, नेदरल्यान्ड्स र जर्मनी समूह विजेता बनेमा क्वाटरफाइनलमा दुई टोलीबीच भिडन्त हुनेछ। यस्तै स्पेन र बेल्जियम समूह विजेता बने क्वाटरफाइनलमै भिड्नेछन्। अर्को आकर्षक सम्भावना छ। यदि फ्रान्स र स्पेन नकआउट चरणमा लगातार विजयी हुँदै अघि बढे र इंग्ल्यान्ड तथा पोर्चुगल पनि समूह विजेता बने र नकआउटका खेल जिते भने सेमिफाइनलका चारै टोली युरोपका हुनेछन्। त्यस्तो अवस्थामा फ्रान्स वा स्पेन र इंग्ल्यान्ड वा पोर्चुगलमध्ये एक टिम फाइनल पुग्नेछन्। अर्को रमाइलो सम्भावना अर्जेन्टिना र ब्राजिल समूह विजेता बने र नकआउट चरणमा जीत हासिल गर्दै अघि बढेमा यी दुई दक्षिण अमेरिकी टिमले सेमिफाइनलमा भिड्नेछन्। जसमा अर्जेन्टिना र ब्राजिलमध्ये एक टिम मात्र फाइनल पुग्नेछ। रोचक अवस्था पनि हुनसक्छ – यदि अर्जेन्टिना र ब्राजिलमध्ये एउटाले समूह विजेता र अर्कोले उपविजेता भएर नकआउट चरणमा सबै खेल जिते भने दुवै टिम फाइनलमा भल्दै भेट्ने सम्भावना समेत छ।






