
झापाको दमक नगरपालिका ९ र १० को सीमा क्षेत्रमा पर्ने जीर्ण सडकको स्तरोन्नति हुन नसकेको भन्दै स्थानीयवासीहरूले सडकमै धान रोपेर विरोध प्रदर्शन गरेका छन्। वर्षौंदेखि हिलो, पानी र खाल्डाखुल्डीले भरिएको सडकमा स्थानीय महिला, पुरुष तथा किसानहरूले धानको बेर्ना बोकेर स्थलगत रूपमा सहभागी भएका थिए। उनीहरूले सडकलाई नै खेतको प्रतीक बनाएर धान रोप्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्। सडक निर्माणका लागि पटक–पटक आवाज उठाए पनि कुनै निकायले गम्भीर चासो नदिएपछि बाध्य भएर सांकेतिक विरोधमा उत्रिनु परेको स्थानीयहरूको गुनासो छ। वर्षायाम सुरु भएसँगै सडक हिलाम्मे बनेको छ भने सर्वसाधारणलाई आवतजावत गर्नसमेत कठिन भएको छ।
विरोध कार्यक्रममा सहभागी किसान नगेन्द्रमणि न्यौपानेले जनप्रतिनिधिहरूले चुनावका बेला मात्रै जनताको घरदैलोमा पुग्ने तर निर्वाचित भएपछि समस्या बिर्सिने गरेको गुनासो गरे। ‘हामीले धेरै पटक यो सडक बनाउन आग्रह गर्यौं’ उनले भने, ‘वडा, नगरपालिका, प्रदेश र संघीय सरकारका प्रतिनिधिलाई समेत भन्यौं। तर वर्षौं बित्दा पनि सडक उस्तै छ।’ अहिले सडक हो कि खेत छुट्याउनै गाह्रो भएकाले विरोध स्वरूप धान रोपेको न्यौपानेले बताए। ‘बिरामीलाई अस्पताल लैजान समस्या छ, विद्यार्थीहरू हिलोमा लड्दै विद्यालय जान बाध्य छन्। विकासका भाषण धेरै सुन्यौं तर व्यवहारमा हिलो र धुलो मात्रै पायौं’ उनी थप्दै भने।
सडकको समस्या नयाँ नभएको र वर्षौंदेखि स्थानीयले सास्ती भोगिरहेको सुरेश धिमालले बताए। ‘वर्षामा हिलो र हिउँदमा धुलो। सडकको अवस्था यति खराब छ कि कतिपय बेला मोटरसाइकलसमेत चलाउन सकिँदैन’ धिमालले भने। बालबालिका विद्यालय जाँदा लड्ने, वृद्धवृद्धा हिँड्न नसक्ने अवस्था भएको उनले सुनाए। ‘हामीलाई सडक कसले बनाउँछ भन्ने चासो छैन, सडक बन्नुपर्छ भन्ने मात्रै हो’ उनले स्पष्ट पारे। जिम्मेवारी एकले अर्कामाथि थोपर्ने काम मात्रै भएको उनको गुनासो छ।
सडकले गर्दा स्थानीयहरूको दैनिकी निकै कष्टकर बनेको पदम भण्डारीले बताए। ‘हामी वर्षौंदेखि यही बाटो प्रयोग गरिरहेका छौं। वर्षा लागेपछि घरबाट निस्कनै डर लाग्छ’ उनले सुनाए, ‘बिरामी पर्दा एम्बुलेन्स आउन सक्दैन, विद्यार्थीहरू हिलोमा लड्दै विद्यालय जान बाध्य छन्।’ जनताको धैर्यको परीक्षा धेरै भइसकेको केदार खतिवडा हुन्। ‘यो सडकको समस्या एक–दुई वर्षको होइन। पटक–पटक आश्वासन पाइयो तर काम भएन’ खतिवडाले भने, ‘कर तिर्ने बेला हामी नागरिक हौं, सुविधा दिने बेला कसैले सम्झँदैन।’ जनप्रतिनिधिहरूले जनताको पीडा बुझ्नुपर्ने भेषराज थापाले बताए। हिँड्न मिल्ने सडक चाहिएको भन्ने आफ्नो सामान्य माग रहेको उनले सुनाए। ‘आज सडकमै धान रोप्नु हाम्रो आक्रोश मात्र होइन, राज्यप्रति गरिएको गम्भीर प्रश्न पनि हो। आखिर कहिलेसम्म जनताले यस्तै सास्ती खेप्ने?’ उनले प्रश्न उठाए। स्थानीयवासीले सडक स्तरोन्नति तथा कालोपत्रेको काम तत्काल सुरु नगरे थप सशक्त आन्दोलनका लागि उत्रिने चेतावनी दिएका छन्।






