
२७ जेठ, विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश सभापतिमा चार जना उम्मेदवार रहेका छन्। मोरङको विराटचोकमा जारी पहिलो प्रदेश अधिवेशनमा सुरुमा सात जनाले सभापतिका लागि मनोनयन दर्ता गरेका थिए। तर, तीन जनाले उम्मेदवारी फिर्ता गरेपछि चार जना मात्रै चुनावी प्रतिस्पर्धामा बाँकी छन्।
निर्वाचन समितिका अनुसार प्रदेश सभापतिमा सुनसरीकी निर्वर्तमान कार्यवाहक सभापति गोमा तामाङ, झापाका चन्द्रकुमार गौली (निरज), तेह्रथुमका डाक्टर खगेन्द्र कटुवाल र मोरङका चन्द्रबहादुर राई उम्मेदवार छन्। प्रदेश सदस्य पदका लागि ६९ जनाले उम्मेदवारी दर्ता गरिसकेका छन्। सदस्यबाट निर्वाचित मध्येबाट पार्टीको उपसभापति १, प्रदेश महामन्त्री १ र सहमहामन्त्री २ जना छनोट गरिनेछ।
सदस्यहरूको भोटबाट सर्वसम्मत छनोट नभए निर्वाचन हुने छ। नयाँ नेतृत्वका लागि आजै मतदान हुनेछ। रास्वपाले प्रदेश सभापति पदका लागि २१ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकेको छ। प्रदेश उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि मनोनयन शुल्क १७ हजार ५ सय रुपैयाँ र प्रदेश सदस्य पदमा १० हजार रुपैयाँ शुल्क तोकिएको छ।






