Skip to main content

भारतीय सेनाका जवानद्वारा चालकमाथि कुटपिटपछि सिक्किममा आक्रोश

२८ जेठ, काठमाडौं। उत्तर सिक्किमको लाचुङस्थित जिरो पोइन्ट नजिक भारतीय सेनाका जवानहरूले स्थानीय चालकलाई कुटपिट गरेपछि सिक्किममा विवाद गम्भीर रुपमा उठेको छ। चालकहरूले कुटपिटमा संलग्न व्यक्तिहरू बिरुद्ध कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका छन्। स्थानीयहरूले पनि आफ्ना सवारी साधनमा ‘चालकप्रति दयालु बन’ भन्ने सन्देशयुक्त स्टिकर टाँस्ने अभियान सुरु गरेका छन्।

स्थानीय सञ्चारमाध्यम र प्रत्यक्षदर्शीहरूको अनुसार ९ जुन (जेठ २६) मा जिरो पोइन्टबाट फर्कँदै गर्दा शिव मन्दिर क्षेत्र नजिक चालक अनुष गुरुङमाथि कुटपिट भएको हो। सो गाडीमा एक बिरामी बच्चा समेत थिए। उनलाई छिटो अस्पताल पुर्याउनुपर्ने भएकाले अनुषले अगाडि रहेको सेनाका गाडीका चालकसँग साइड मागेका थिए। तर सेनाका जवानहरूले बाटो दिन अस्वीकार गरेपछि दुवै पक्षबीच विवाद भएको थियो। विवाद बढ्दै जाँदा सेना जवानहरूले अनुषमाथि हातपात तथा कुटपिट गरेका थिए।

एक भिडियोमा सेनाका जवानहरूले एक चालकलाई गाडीबाट बाहिर निकालेर सामूहिक रूपमा मुक्का प्रहार गर्दै गरेको देखिन्छ। यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछिको सिक्किमभर आक्रोश फैलिएको छ। चालकहरूको संस्था ‘सारथी वेलफेयर बोर्ड’, ‘अल सिक्किम ड्राइभर्स वेलफेयर काउन्सिल’ र सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) नजिकका चालक संगठनहरूले संयुक्त रूपमा घटनाको कडा निन्दा गरेका छन्। उनीहरूले यस घटनालाई श्रमजीवी चालकहरूको आत्मसम्मान र सुरक्षा माथिको आक्रमण बताएर कुटपिटमा संलग्न व्यक्तिहरूलाई कारबाहीको माग गरेका छन्।

चालक संगठनहरूले भारतीय सेना अनुशासित संस्था भएकाले यो घटनामा संलग्नहरू विरुद्ध निष्पक्ष छानबिन र आवश्यक कानुनी कारबाही गर्न माग गरेका छन्। साथै यस्ता घटना दोहोरिन नदिन स्पष्ट संयन्त्र र जिम्मेवारी निर्धारण गर्न आग्रह गरेका छन्। पीडित चालकहरूले लाचुङ प्रहरी चौकीमा भारतीय सेनाका जवानहरू बिरुद्ध उजुरी दर्ता गराएका छन्। सिक्किमको गुरुङ एसोसिएसनले पनि चालक अनुष गुरुङसहित तीनवटा विरुद्ध गरिएको कुटपिटको घटनाको कडा निन्दा गरेको छ। अघिल्लो पटक सिक्किममा एक महिला यात्रुले चालकलाई कुटपिट गरेको घटना सार्वजनिक भएको थियो। त्यसपछि सेनाका जवानबाट पनि ज्यादती भएको भन्दै स्थानीय चालकहरूले आफ्ना गाडीमा ‘बि काइन्ड टु द ड्राइभर’ अर्थात् ‘चालकप्रति दयालु बन’ लेखिएको स्टिकर टाँस्ने अभियान सुरु गरेका छन्। प्रहरीले घाइते चालकहरूको स्वास्थ्य परीक्षण गरिसकेको छ र घटनाबारे छानबिन जारी रहेको छ। यद्यपि भारतीय सेनाबाट यस विषयमा आधिकारिक प्रतिक्रिया आएको छैन। सिक्किममा यो घटना सामाजिक सञ्जालदेखि राजनीतिज्ञ र नागरिकसम्म व्यापक बहसको विषय बनेको छ।