
काठमाडौं । एप्पलले आफ्नो भर्चुअल सहायक ‘सिरी’ लाई गुगलको जेमनाई एआई मोडेलसँग संयोजन गर्दै पूर्ण रूपमा पुनःब्राण्ड गरी नयाँ प्रविधि सार्वजनिक गरेको छ। कम्पनीले सोमबारदेखि सुरु भएको वर्ल्ड वाइड डेभलपर सम्मेलनमा च्याटजीपीटीजस्तै संवाद गर्न सक्ने ‘सिरी एआई’ सार्वजनिक गरेको छ। एप्पलका अनुसार नयाँ सिरीले प्रयोगकर्ताको स्क्रिनमा रहेका सामग्रीहरू बुझ्ने, विभिन्न एपहरूमा गएर काम गर्ने र तस्वीरहरू पहिचान गरी क्यालेन्डरमा इभेन्ट सेभ गर्ने जस्ता उन्नत कार्यहरू गर्न सक्षम छ। कम्पनीले यसका लागि पुराना कुराकानीहरूको इतिहास हेर्न मिल्ने छुट्टै ‘डेडिकेटेड एप’ पनि ल्याएको छ।
सुरुवाती चरणमा अंग्रेजी भाषामा उपलब्ध हुने यो सेवा युरोपेली युनियनको डिजिटल मार्केट्स एक्ट र चीनको नियामक कानुनका कारण त्यहाँ तत्काल उपलब्ध नहुने एप्पलले जनाएको छ। एप्पलले ‘एप्पल इन्टेलिजेन्स’ मार्फत आफ्ना नयाँ अपरेटिङ सिस्टमहरू आईओएस २७, आईप्याडओएस २७ र म्याकओएस २७ का प्रत्येक पक्षमा आर्टिफिसियल इन्टेलिजेन्सलाई जोडेको छ। कम्पनीका अनुसार सफारी ब्राउजरले अब आफैं ट्याबहरूलाई विषयअनुसार मिलाउनेछ भने वेबसाइटमा सामानको मूल्य घट्दा ‘नोटिफाई मी’ फिचरमार्फत जानकारी दिनेछ।
त्यस्तै, नयाँ पासवर्ड एपले एआई एजेन्टको सहायताले वेबसाइटहरूमा गएर कमजोर पासवर्डहरू आफैँ परिवर्तन गरिदिनेछ। फोटोज र मेसेज एपमा पनि एआई फिचर थपिएका छन्। एप्पलका अनुसार ‘स्पेसियल रिफ्रेमिङ’ फिचरले तस्वीर खिचिसकेपछि पनि थ्रीडी एआईको मद्दतले क्यामेराको कोण परिवर्तन गर्न सक्षम बनाउँछ। इमेज प्लेग्राउन्डबाट सिन्थआईडी वाटरमार्कसहित यथार्थपरक तस्वीरहरू जेनेरेट गर्न सकिनेछ भने मेसेज र मेलमा एआईले प्रयोगकर्ताको लेखनशैली बुझेर ‘स्मार्ट रिप्लाइ’ दिने कम्पनीले जनाएको छ।






