
२७ जेठ, काठमाडौं । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका सुटर बाबु थापालाई दुई वर्ष सात महिना लामो निगरानी र खोजीपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सुटर सानुबाबु भनिने बाबु थापा सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा आईजीपी (प्रहरी महानिरीक्षक) आफैं उपस्थित थिए । हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्दा प्रहरी प्रमुखले आफैं उपस्थित हुनुले यो घटना प्रहरीका लागि चुनौतीपूर्ण रहेको संकेत गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले समातेका बाबु थापालाई सार्वजनिक गरिएको पत्रकार सम्मेलनमा तत्कालीन आईजीपी उपेन्द्रकान्त अर्यालले प्रहरीको घाँटीमा अड्किएको काँडा निकाले जस्तै अनुभूति भएको बताएका थिए । प्रहरीले ठूलो मिहिनेत गरेर समातेका न्यायाधीश बम हत्याका सुटर बाबु थापा ९ महिनादेखि कारागारबाट फरार छन् । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको मौका उपयोग गर्दै उनी केन्द्रीय कारागार जग्गनाथदेवल, सुन्धाराबाट फरार भएका थिए ।






