Skip to main content

पोर्चुगलले नाइजेरियालाई पराजित गर्यो, रोनाल्डोले गोल गर्न आएनन् सफल

फिफा विश्वकप २०२६ को तयारी अन्तर्गत आयोजित मैत्रीपूर्ण खेलमा पोर्चुगलले नाइजेरियालाई २-१ गोल अन्तरले पराजित गरेको छ। बुधबार लेइरियामा सम्पन्न खेलमा पेड्रो नेटो र फ्रान्सिस्को कोन्सेइसाओले गोल गर्दै पोर्चुगललाई विजयी बनाएका छन्। नाइजेरियाका लागि अकोर एडम्सले एक गोल फर्काए। खेलको मध्यतिर चेल्सीका फरवार्ड नेटोले गोल गरेर पोर्चुगललाई अग्रता दिलाएका थिए, तर पहिलो हाफ सकिनुअघि एडम्सले बराबरी गोल गर्दै नाइजेरियालाई खेलमा फर्काए। ७५औं मिनेटमा युभेन्टसका विंगर कोन्सेइसाओले निर्णायक गोल गर्दै पोर्चुगलको जित सुनिश्चित गरे।

४१ वर्षीय कप्तान क्रिस्टियानो रोनाल्डोले खेलमा केही राम्रो अवसर पाएका थिए, तर गोल गर्न भने सकेनन्। उनले विश्वकपको आफ्नो छैटौं संस्करण खेल्न लागेका हुन्, तर उनको उपस्थितिले प्रशिक्षक रोबर्टो मार्टिनेजको बलियो टोलीमा प्रभाव पार्न सक्ने भन्दै केही प्रश्नहरू उठेका छन्। पेरिस सेन्ट-जर्मेनबाट च्याम्पियन्स लिग जितेका चार खेलाडी टोलीमा समावेश भएपछि प्रशिक्षक मार्टिनेजले भिटिन्हा, जोआओ नेभेस र ब्रुनो फर्नान्डेजलाई सुरुवाती टोलीमा राखेका छन्। पोर्चुगल शुक्रबार फ्लोरिडाको पाम बीच जानेछ, जहाँ आफ्नो प्रशिक्षण शिविर स्थापना गर्नेछ। समूह ‘के’ मा रहेको पोर्चुगलले जुन १७ मा ह्युस्टनमा डीआर कंगोविरुद्ध खेल्दै विश्वकप अभियान सुरु गर्नेछ। त्यसपछि उज्बेकिस्तान र कोलम्बियासँग खेल्नेछ।