Skip to main content

इरानमाथि अमेरिकी आक्रमणपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य अखडाहरू तेहरानको लक्ष्यमा

अमेरिकाले पछिल्ला आक्रमणहरु गरेपछि इरानले पनि खाडी राष्ट्रहरूमा रहेको अमेरिकी सैन्य अखडामा जवाफमा आक्रमण गरेको छ। तेहरानले युद्ध अन्त्य गर्ने “सम्झौताका लागि लामो समय लगाएको” भन्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि “कडा आक्रमण” हुनसक्ने संकेत दिएपछि अमेरिकाले इरानमा आक्रमण गरेको थियो। अमेरिकी सेन्ट्रल कमान्ड ‘सेन्टकम’ले दोस्रो दिन “आत्मरक्षाका” लागि गरिएका आक्रमणहरू पूरा भएको जनाएको छ। यसै जवाफ स्वरूप इरानले बाहरेन र कुवेतमा रहेका अमेरिकी सैन्य अखडामा आक्रमण गरेको छ। उसले आफ्नो देशमा आक्रमणका लागि प्रयोग गरिएका स्थानहरूमा हमला गरिएको बताएको छ।

एक पक्षले आक्रमण गर्दा अर्कोले जवाफ स्वरूप आक्रमण गरिरहेको अवस्थामा पछिल्ला दिनहरुमा तनाव बढ्दै गएको छ जसले गएको अप्रिलमा सुरु भएको कमजोर युद्धविरामको परीक्षा लिइरहेको छ। पछिल्लो अमेरिकी आक्रमणपछि होर्मुज जलमार्ग नजिकका दक्षिणी इरानी शहरहरूमा विस्फोटको आवाज सुनिएको छ। यस क्षेत्रका अमेरिकी सेनाले हवाई प्रतिरक्षा, राडार र अन्य संरचनाहरुमाथि मंगलबार आक्रमण गरेको थियो।

इरानको इस्लामिक रेभोल्यूशनरी गार्ड कोर ‘आईआरजीसी’ले होर्मुज जलमार्गमा जहाजहरूमाथि पनि आक्रमण गरिएको बताएको छ। इरानी सरकारी सञ्चारमाध्यमहरूले होर्मुज जलमार्ग “सबै प्रकारका जहाजहरूको लागि पूर्ण रूपमा बन्द” गरिएको दाबी गरेपछि त्यहाँका जहाजहरूमा आक्रमण भएको छ। तथापि सेन्टकमले “व्यावसायिक जहाजहरू होर्मुज जलमार्ग हुँदै आवतजावत गरिरहेका छन्” भनी जनाएको छ।

इरानी सञ्चारमाध्यमहरूले होर्मुज जलमार्गमा दुई वटा तेल ट्याङ्करमाथि इरानी जलसेनाले आक्रमण गरेको जनाएका छन्, तर यसबारे पुष्टि भएको छैन। विश्वव्यापी तेल ढुवानीका लागि महत्त्वपूर्ण मार्ग बन्द गरिएको र जहाजमाथि आक्रमण गरिएको खबर सार्वजनिक भएपछि तेलको मूल्य पुनः वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यका लागि मानक मानिने ब्रेन्ट कच्चा तेलको मूल्य एशियाली बजारमा बिहीबार बिहान कारोबार हुँदा करिब दुई प्रतिशतले बढेर प्रति ब्यारल ९५ अमेरिकी डलरभन्दा माथि पुगेको छ।