
फिफा विश्वकपको करिब एक शताब्दी लामो इतिहासमा २३औं संस्करण अहिलेसम्मकै सबैभन्दा ठूलो र ऐतिहासिक मानिएको छ। विश्वकप सुरु हुनुअघि नै यस संस्करणले धेरै कीर्तिमानहरू तोडेका छन्। फिफा विश्वकप २०२६ को २३औं संस्करण आज राति मेक्सिको र दक्षिण अफ्रिकाबीच उद्घाटन खेलसँगै उत्तर अमेरिकामा सुरु हुँदैछ। इतिहासमै पहिलो पटक तीन राष्ट्रमा आयोजना हुने यस विश्वकपमा कीर्तिमानी ४८ टोलीले १०४ खेल खेल्नेछन्। यस पटक फिफा विश्वकपको कुल पुरस्कार राशि ६५ करोड ५० लाख अमेरिकी डलर तोकिएको छ, जसमा विजेताले ५ करोड डलर प्राप्त गर्नेछन्। २८ जेठ, काठमाडौं।
फुटबल विश्वकै सबैभन्दा चर्चित खेल हो, जसलाई विश्वव्यापी खेल पनि भनिन्छ। विश्वका २०० भन्दा बढी देशहरूले फुटबल खेल्ने तथ्यले यसको लोकप्रियता प्रष्ट हुन्छ। फुटबलको लोकप्रियता विश्वव्यापी छ र यो खेलको विश्वकप हुँदा विशेष चर्चा हुने नै थियो। अहिले मुख्य चर्चाको विषय फिफा विश्वकप २०२६ हो, जुन आज रातिदेखि उत्तर अमेरिकामा सुरु हुँदैछ। मेक्सिको सिटीस्थित ऐतिहासिक एस्टाडियो एज्टेकामा घरेलु समर्थकहरूको अगाडि मेक्सिकोले दक्षिण अफ्रिकासँग उद्घाटन खेल खेल्नेछ। नेपाली समयअनुसार यो खेल मध्यराति १२:४५ बजे सुरु हुनेछ।
विश्व फुटबलकै सबैभन्दा ठूलो महोत्सव, विश्व खेलकुदकै ठूलो प्रतियोगिता, र विश्वभर अरबौं समर्थकहरूको भावना समेट्ने फिफा विश्वकपको २३औं संस्करण हो यो। मेक्सिकोले दक्षिण अफ्रिकालाई घरेलु मैदानमा आतिथ्य दिएर फिफा विश्वकप २०२६ को औपचारिक शुरुवात गर्नेछ। विश्वभरका हजारौं खेलाडी अहिले विश्वकपका लागि अमेरिका, मेक्सिको र क्यानडामा भेला भइरहेका छन्। लाखौं दर्शक प्रत्यक्ष खेल हेर्न तयार छन् भने करोडौं दर्शक विभिन्न माध्यमबाट फुटबलको मजा लिन लागिपरेका छन्। फिफा विश्वकपको ट्रफी जित्ने एउटै सपना बोकेर ४८ टिमहरु फुटबल महाकुम्भका लागि तयारी गरिरहेका छन्।






