Skip to main content

सिरहामा भूमिहीन दलित परिवारलाई १२ वटा हाते ट्याक्टर हस्तान्तरण

सिरहाको नवराजपुर गाउँपालिकामा भूमिहीन दलित परिवारलाई खेतीपातीमा आत्मनिर्भर बनाउन ८ लाख ४२ हजार ९५३ रुपैयाँ बराबरका १२ वटा हाते ट्याक्टर वितरण गरिएको छ। स्थानीय गाउँपालिका, दलित जनकल्याण युवा क्लब र मेनोनाइट सेन्ट्रल कमिटीको सहकार्यमा सञ्चालित परियोजनामार्फत ३०४ भूमिहीन सदस्य लाभान्वित भएका छन्। छिमेकी वरियारपट्टि गाउँपालिकाका ४ वडाका ८ समूहलाई पनि ५ लाख ६१ हजार ९६८ रुपैयाँ बराबरका हाते ट्याक्टर हस्तान्तरण गरिएको छ। २८ जेठ, सिरहा।

सिरहाको दक्षिणी सीमावर्ती नवराजपुर गाउँपालिकामा भूमिहीन दलित परिवारलाई खेतीपातीमा आत्मनिर्भर बनाउन १२ वटा हाते ट्याक्टर वितरण गरिएको हो। ‘एकीकृत जीविकोपार्जन तथा कृषि सुधार परियोजना’ अन्तर्गत पाँच वडाका ३८ कृषक समूहमध्ये १२ समूहलाई हाते ट्याक्टर वितरण गरिएको हो। यस परियोजनामा गाउँपालिका, दलित जनकल्याण युवा क्लब र मेनोनाइट सेन्ट्रल कमिटीले सहकार्य गरेका छन्।

क्लबका अध्यक्ष उमेकुमार विसुन्केले १२ समूहमा आबद्ध ३०४ सदस्यले पालैपालो प्रयोग गर्ने गरी आठ लाख ४२ हजार ९५३ रुपैयाँ बराबरको हाते ट्याक्टर वितरण गरिएको जानकारी दिए। उनले भने, “हाते ट्याक्टरसँगै इञ्जिन तथा गियर तेल र डिजेलसमेत उपलब्ध गराइएको छ।” परियोजनाअन्तर्गत भूमिहीन दलित परिवारलाई लिजमा लिइएको जग्गामा अन्न तथा तरकारी खेती गर्न, आयआर्जनका लागि किराना तथा घुम्ती कपडा पसल सञ्चालन गर्न समेत सहयोग गरिएको छ।

सामाजिक परिचालक सन्तोषकुमार विसुन्केका अनुसार हाते ट्याक्टर सञ्चालनका लागि किसानहरुलाई तालिम दिइएको छ भने प्रत्येक समूहमा एक–एक जना चालकसमेत तोकिएको छ। स्थानीय सुलेना सदायका अनुसार परियोजनामार्फत वार्षिक ४१ हजार १०० रुपैयाँमा लिजमा लिइएको दुई बिघा पाँच कठ्ठाभन्दा बढी जग्गा १० भूमिहीन परिवारले खेती गरिरहेका छन्। खेतीबाट परिवारको खाद्य सुरक्षासँगै बचतसमेत हुन थालेको उनी बताउँछिन्। यस्तै, छिमेकी वरियारपट्टि गाउँपालिकाका चार वडाका आठ समूहलाई पनि पाँच लाख ६१ हजार ९६८ रुपैयाँ मूल्य बराबरका हाते ट्याक्टर उपलब्ध गराइएको परियोजना संयोजक लालप्रसाद पोखरेलले जानकारी दिए। उनका अनुसार लिजमा उपलब्ध गराइएको जग्गामा खेती गर्दै भूमिहीन दलित परिवारले आफ्नो आर्थिक अवस्था सुधार्न थालेका छन्। वरियारपट्टि गाउँपालिका-३ का वडाध्यक्ष विनोदकुमार यादवले भूमिहीन दलित परिवारको सुरक्षित बसोवास, बालबालिकाको शिक्षा, सरसफाइ र सामाजिक सुधारका लागि वडास्तरबाट समेत पहल भइरहेको बताए।