
समाचार सारांश ग्रान्डी स्टार्स र ट्रेनिङ ग्राउन्ड पाँचौं नखिपोट खुला बास्केटबल प्रतियोगिताको महिला तर्फ सेमिफाइनलमा प्रवेश गरे। पुरुषतर्फ केभीसी हउान्ड्स र डा एरीले आफ्ना खेल जित्दै क्वाटरफाइनल जितेका छन्। डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी, कीर्तिपुर, इन्जिनियिरिङ, टाइम्स र बूढानीलकण्ठ पनि पुरुषतर्फ क्वाटरफाइनलमा पुगेका छन्। २७ जेठ, काठमाडौं । ग्रान्डी स्टार्स र ट्रेनिङ ग्राउन्डले पाँचौं नखिपोट खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगितामा बुधबार महिला तर्फ सेमिफाइनलमा स्थान बनाएका छन्। दुवै टोलीले सहज जित निकाल्दै सेमिफाइनलमा पुगेका हुन्। नखिपोटस्थित आयोजक नखिपोट युथ क्लवको कभर्ड हलमा ग्रान्डीले आईएसए नेपाललाई ६१–११ को फराकिलो अन्तरले पराजित गर्यो। ग्रान्डीका विनामनि योञ्जनले १२ अंक योगदान दिइन्। चारै क्वाटरमा अग्रता बनाउँदै ग्रान्डीले २०–४, १२–३, १९–४ र १०–० को स्कोर बनायो। ग्रान्डी समूह ‘ए’ को विजेता भएर सेमिफाइनलमा पुगेको हो। तीन टिम रहेको यो समूहबाट लगातार दुई हार बेहोरेर आईएसए नेपाल प्रतियोगिताबाट बाहिरियो। एक खेल जितेको बूढानीलकण्ठ समूहको उपविजेताका रुपमा सेमिफाइनलमा पुग्न सफल भयो। युनिसाबाट १५ अंक प्राप्त गर्दै ट्रेनिङ ग्राउन्डले एनसीसीएसलाई ६५–९ ले हरायो। पहिलो क्वाटरमा नै १८–२ को अग्रता बनाएको ट्रेनिङ ग्राउन्डले अन्तिमसम्म अग्रतालाई बचाउँदै थप १२–४, १२–० र २३–३ स्कोर हासिल गर्यो। तीन टिम रहेको समूह ‘बी’ बाट ट्रेनिङ ग्राउन्ड विजेता भएर सेमिफाइनलमा पुगेको छ र बलर्स उपविजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको छ। पुरुषतर्फ केभीसी हउान्ड्सले सोलोलाई ८७–८५ तथा डा एरीले बलर्सलाई ७४–४८ ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे। केभीसीका पासाङ मास्केको ३४ र डा एरीका विक्रम डंगोलको ३३ अंक उत्कृष्ट रहे। त्यस्तै डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी, कीर्तिपुर, इन्जिनियिरिङ, टाइम्स र बूढानीलकण्ठ पनि पुरुषतर्फ क्वाटरफाइनलमा पुगेका छन्।






