
नेपाल पर्यटन बोर्डको आयोजनामा मधेश प्रदेशका पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन गर्न चार दिने ‘मधेश ट्राभल मार्ट’ सुरु गरिएको छ। नाट्टा मधेश प्रदेशका अनुसार यो मार्टमा नेपाल र भारतका २०० भन्दा बढी पर्यटन व्यवसायी र सरोकारवालाहरू सहभागी हुनेछन्। मेलाले मधेशका आठै जिल्लाका सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरूलाई भारतीय बजारमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। २८ जेठ, बारा।
नेपाल पर्यटन बोर्डको आयोजनामा बिहीबारदेखि मधेश ट्राभल मार्ट सुरु भएको छ। मार्टको आयोजना सम्वन्धी जानकारी नेपाल एसोसिएसन अफ ट्राभल्स एण्ड टुर्स अपरेटर (नाट्टा) मधेश प्रदेशले बिहीबार बाराको सिमरामा पत्रकार सम्मेलन गरी दिएको छ। वीरगञ्ज, बारा र जनकपुरमा छुट्टाछुट्टै आयोजना भइरहेका कार्यक्रममा मधेश प्रदेशका पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धनसहित स्थानीय परिकार र संस्कृतिलाई प्राथमिकतामा राखिएको छ, जसको सहजीकरण नाट्टा मधेश प्रदेशले गरिरहेको छ।
नाट्टा मधेशका अध्यक्ष मोहन शर्माले शुक्रबार वीरगञ्जमा औपचारिक उद्घाटनपछि जनकपुरसम्म विभिन्न कार्यतालिकाहरूको जानकारी पत्रकार सम्मेलनमा प्रस्तुत गरेका थिए। ‘बारा–पर्सा लगायत मधेशका आठै जिल्लाका संस्कृति र पर्यटकीय क्षेत्रलाई जोडेर कार्यक्रम आयोजना गरिएको हो,’ शर्माले बताए। वीरगञ्ज महानगरपालिका र बर्दिबास नगरपालिकाको सहयोगमा आयोजना भइरहेका यस कार्यक्रमको सचिवालय बाराको जितपुरसिमरा उपमहानगरपालिकामा रहेको छ।
चार दिनसम्म सञ्चालन हुने मार्टमा स्थानीय तहहरुको समेत सह–लगानी रहेको आयोजकले जनाएको छ। ‘नेपाल पर्यटन बोर्ड र स्थानीय तहहरुको सहलगानीमा यो कार्यक्रम आयोजना भैरहेको छ,’ नाट्टा मधेश प्रदेश अध्यक्ष शर्माले भने। मार्टमा नेपाल र भारतका विभिन्न शहरबाट २०० भन्दा बढी सहभागीहरू रहनेछन्, जसमा पर्यटन व्यवसायी, पर्यटक, कन्टेन्ट क्रियेटर र टुर्स अपरेटरहरू समावेश छन्। आन्तरिक रूपमा मधेशका पर्यटकीय गन्तव्यहरूलाई भारतीय पर्यटन बजारमा प्रवर्द्धन गर्ने मुख्य उद्देश्य राखिएको छ।






