विश्वकप फुटबल २०२६: ‘‘सजिलै’’ रेड कार्ड दिने रेफरी चीनको विश्वकप प्रतिनिधि

चीन यसपालिको फिफा विश्वकपमा छनोट हुन सकेन। तर, प्रतियोगितामा चीनको ‘प्रतिनिधित्व’ एक रेफरीले गर्नेछन्। संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा जुन ११, बिहीवारदेखि सुरु हुँदै गरेको विश्वकपमा चिनियाँ दर्शकहरूले ४६ वर्षीय तिनै रेफरी मा निङलाई समर्थन गर्ने छन्। माको तस्बिर प्रयोग गरेर बनाइएका कैयौँ मीमहरू भाइरल भएका छन्। लेनोभो जस्ता प्रविधि कम्पनी, हाइसेन्स जस्ता विद्युतीय सामग्री उत्पादक कम्पनीहरू र अन्य ठूला ब्र्यान्डहरूले उनलाई प्रायोजन गरेका छन्। उनी कडा स्वभावका कारण परिचित छन्। २०१५ मा शाङ्घाईमा आयोजित एक खेलमा उनले सात येलो कार्ड र तीन रेड कार्ड देखाएका थिए। रेफरीका रूपमा एउटै खेलमा सर्वाधिक कार्ड देखाउनुको कारण उनले “कार्ड मास्टर”को उपनाम पाए।
उनी पहिलो पटक चार वर्षअघि कतारमा भएको विश्वकपमा सहभागी भएका थिए। ‘फोर्थ अफिसियल’को रूपमा उनले मैदानबाहिरबाट रेफरीलाई सहयोग गरेका थिए। यो उनको दोस्रो विश्वकप हुनेछ। उनी निङ सामाजिक सञ्जालमा लोकप्रिय रेडनोट र अन्य चिनियाँ सोशल मिडिया प्ल्याटफर्महरूमा आफ्नो सामग्रीमार्फत करोडौँ भ्युज बटुलेका छन्। केही प्रयोगकर्ताहरूले उनलाई समर्थन गरेका छन् भने केहीले चीनमा खेलकुदको अवस्थाबारे चिन्ता व्यक्त गरेका छन्। “हामीसँग मा निङ छन्, तपाईँहरूसँग को छ?” रेडनोटमा एकजना लेख्छन्। “अरू देशले आफ्ना टिमहरूको खेल हेर्न पाउँछन्, हामी हाम्रो रेफरीले कार्ड दिने क्षण हेर्ने छौँ,” अर्का व्यक्ति भन्छन्।
उनी अहिले रेफरिहरूको दशदिने क्याम्पमा सहभागी हुन मायामीमा छन्। उनलाई संगै दुई अन्य चिनियाँ सहायक रेफरिहरू पनि छन्। सहायक रेफरी जो फे र भिडिओ सहायक रेफरी फू मिङ दुवै मुख्य रेफरीका सहयोगीको भूमिकामा मैदानबाहिर हुनेछन्। मा निङको अनुभवलाई विश्व फुटबल नियामक संस्था फिफाले सन् २०११ मा मान्यता दिएको थियो। उनी नान्जिङ स्पोर्ट्स इन्स्टिट्यूटमा पनि प्राध्यापन गर्छन्। आसन्न विश्वकपका लागि अनुभव संकलन गर्ने उद्देश्यले उनले रेडनोटमा दुई साताअघि खाता खोलेका छन्। रेडनोट चीनमा इन्स्टाग्रामजस्तै लोकप्रिय प्लेटफर्म हो।
त्यसमा उनले हजारौँ फलोअरहरू बटुलेका छन्। रेडनोटको पहिलो पोस्टमा उनले लगाएको रेफरीको टीशर्टको खल्तीबाट सानो रातो पुस्तिका देखाइएको छ। यसले चिनियाँ नामसहितको उक्त प्लेटफर्म र उनलाई रेफरीको रूपमा प्राप्त ‘रेड कार्ड’ ख्यातिलाई जनाउँछ। नियमको ठूलो उल्लङ्घन गर्ने खेलाडीले रेड कार्ड पाउँछन् र मैदान छोड्नुपर्ने हुन्छ। त्यसपछिको पोस्टमा उनी सूटकेसमा सामान राख्दै र विश्वकपका लागि जिमखानामा शारीरिक व्यायाम गरिरहेको भिडियो छ। भिडियोलाई नाटकीय सङ्गीतले सजीव बनाएको छ भने लेनोभो ट्याब्लेट र अन्य सामग्रीहरू देखाइएका छन्। “म यो काम आत्मविश्वास र दृढतासाथ गर्छु। विश्वकप, हामी आउँदै छौँ,” क्याप्सनमा लेखिएको छ।
चीनले अहिलेसम्म एकपटक मात्र सन् २००२ मा विश्वकपमा सहभागिता जनाएको छ। त्यो बेला चीनले कुनैपनि खेल जित्न सकेन र समूह चरणमै बाहिरियो। त्यसपछि चीनले छनोट चरण पार गरेर विश्वकपमा सहभागी हुन सकेको छैन। विगत दुई दशकमा चिनियाँ फुटबल क्षेत्रले आर्थिक समस्या भोगिरहेको छ। साथै, भ्रष्टाचारको आरोप लागेपछि केही खेलाडी, रेफरी र क्लबका पदाधिकारीहरूले आजीवन प्रतिबन्ध पनि भोग्नुपरेको छ।






