बागलुङ नगरपालिकाले अतिक्रमित जग्गामा निर्मित संरचना १५ दिनभित्र हटाउन निर्देशन

बागलुङ नगरपालिकाले सरकारी र सार्वजनिक जग्गामा भएका अतिक्रमण हटाउन १५ दिने सार्वजनिक सूचना जारी गरेको छ। दिइएको समयभित्र अतिक्रमित संरचना नहटाए नगरपालिकाले आफैंले भत्काउने र त्यसको खर्च सम्बन्धित पक्षबाटै वसूली गर्ने जनाएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार सार्वजनिक जग्गा संरक्षण गर्ने दायित्व अन्तर्गत नगरपालिकाले यो कदम चालेको हो।
बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले अतिक्रमण भएका जग्गा र संरचना खोज्न थालेको जानकारी दिएका छन्। बागलुङ बजारसहित अन्य वडा क्षेत्रका सार्वजनिक जग्गा मिचिएको र अवैध संरचना निर्माण गरिएको विषयमा नगरपालिकाले चासो देखाएको हो। नगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सरकारी, सार्वजनिक, ऐलानी तथा प्रति जग्गाको संरक्षण र अतिक्रमण नियन्त्रणका लागि लगत सङ्कलन गरिरहेको जनाएको छ।
सडक, खोला र सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना खाली गर्न नगरपालिकाले आग्रह गरेको छ। मुलुकी देवानी संहिता, २०७४ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार सरकारी तथा सार्वजनिक जग्गा संरक्षण स्थानीय तहको दायित्व भएकाले तत्काल अतिक्रमण हटाउन सूचना जारी गरिएको हो।
नगरपालिकाका अनुसार विभिन्न स्थानमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी घरटहरा, पसल, पर्खाल लगायत संरचना बनाइएपछि सवारी आवागमन, सडक सुरक्षा र सार्वजनिक सम्पत्तिको संरक्षणमा समस्या देखिएको छ। पन्ध्र दिनभित्र स्वयम् अतिक्रमित जग्गा खाली र संरचना हटाउन सबै व्यक्ति, संस्था र घरधनीलाई अनुरोध गरिएको छ। यदि समयमा कार्यवाही नभएमा नगरपालिका आफैंले संरचना हटाउनेछ।






