
२८ जेठ, धनगढी। हुम्लाबाट बाजुरा हिमाली गाउँपालिका–३ लाम्पाटा पुगेका जनप्रतिनिधि लगायतमाथि कुटपिट गर्ने घटनामा दोषीमाथि कारबाही नगरेपछि बाजुराबासी आन्दोलित भएका छन्। बुधबारदेखि हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा स्थानीयहरू प्रदर्शनमा छन्। प्रदर्शनकारीहरूले हिमाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडा नं ३ सदस्य पेमागारा गुरुङ लगायतमाथि कुटपिट गर्नेहरूलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग राखेका छन्। उनीहरूले सडकमा टायर बालेर प्रदर्शन गरेका छन् जसका कारण धुलाचौरमा सवारीसाधन सञ्चालन रोकिएको छ। यसले कैलाश मानसरोवर जाने यात्रामा समेत समस्या सिर्जना गरेको छ।
काठमाडौंबाट १८ जनाको समूह कैलाश मानसरोवर यात्रा गर्दै गरेका सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका शुक्र तामाङले स्थानीय आन्दोलनका कारण समस्या भएको बताएका छन्। उनका अनुसार, कर्णाली कोरिडोरमार्ग हुँदै बिहीबार बिहान ५ बजे बस धुलाचौर पुगेको थियो तर स्थानीयले सडक अवरुद्ध गरेपछि बस अघि बढ्न सकेन। अहिले उक्त समूह पैदलमार्गबाट मानसरोवर तर्फ अघि बढिरहेको छ। धुलाचौर हुँदै यात्रा गर्ने अन्य केही यात्रुहरू पनि पैदल नै अगाडि बढेका छन्।
बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले बुधबारदेखि नै धुलाचौरमा स्थानीयहरू आन्दोलित रहेको जानकारी दिएका छन्। उनले बाजुरा प्रहरीले हुम्ला प्रहरीको सहयोगमा कुटपिटमा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको बताए। जेठ ३ गते हुम्लाबाट आएका स्थानीयहरूले लाम्पाटा गाउँ पुगेर वडा सदस्य पेमागारा गुरुङ लगायतलाई कुटपिट गरी बन्धक बनाएका थिए। धनगढीका मेयर गोपाल हमाल नेतृत्वको पर्यटन प्रवर्द्धन समूहमाथि पनि रानीसैनमा ढुंगामुढा भएको थियो। केही दिनअघि रानीसैन क्षेत्रमा स्थानीयहरूद्वारा बनाएका भेडागोडा भत्काइएका साथै आगजनी गरिएको थियो। स्थानीयहरूले घटनाको निष्पक्ष छानबिन गरी आगजनी, कुटपिट र लुटपाटका दोषीहरूलाई कानुनी कारबाही गर्न माग गरेका छन्। सदरमुकाम मार्तडीमा पनि बुधबार स्थानीयहरूले विरोध स्वरूप प्रदर्शन गरेका थिए।






