
जेठ २७, पोखरा । पोखराको मित्रमिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ठगी प्रकरणमा पूरक अभियोग लागेका ६ जनालाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले मंगलबार प्रतिवादीहरूबाट दाबी गरिएको बिगो बराबरको नगद वा बैंक जमानत लिएर रिहा गर्न आदेश दिएको हो । ६ जनाबाट कुल ८ करोड २४ लाख ६२ हजार २०३ रुपैयाँ बिगो दाबी गरिएको छ । बिगो बराबरको रकम तिरेर छाड्न आदेश दिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी रामबहादुर किसानले जानकारी दिए ।
अदालतले सहकारीको रकम हिनामिनामा संलग्न भएको भन्दै भरत भट्टराईबाट ३ करोड ५१ लाख ६३ हजार २०४ रुपैयाँ बिगो तिर्न भनेको छ । पत्रकार अर्जुन गिरीबाट ३ करोड १८ लाख ६ हजार २५२ रुपैयाँ बिगो कायम गरिएको छ । सहकारीका उपाध्यक्ष विजय लम्सालबाट ६३ लाख ११ हजार २३३ रुपैयाँ तिरेर छाड्न आदेश गरिएको छ । सहकारीका शेयर सदस्य तथा सञ्चालक समिति सम्बन्धित व्यक्ति राजु बरालबाट ३६ लाख ८० हजार २३९ रुपैयाँ, राष्ट्रिय सहकारी बैंकका कर्मचारी सन्तोष घिमिरेबाट ३१ लाख १ हजार २७५ रुपैयाँ र सेयर सदस्य बुद्धिसागर पौडेलबाट २४ लाख रुपैयाँ बिगो कायम भएको छ ।
सहकारी ठगी मुद्दा २०८० सालमै अदालतमा दायर भएको थियो । अध्यक्ष रमण पौडेल, व्यवस्थापक किरण अधिकारीसहित अहिले पुर्पक्षका लागि थुनामा छन् । अदालतबाट बिगो छुट्याएर पुरक अभियोग पेश गर्न आदेश भएको थियो । मित्रमिलन सहकारीमा बचतकर्ताको रकम फिर्ता नहुने, निक्षेपकर्ताले मागेको रकम पाउन नसक्ने र संस्थाको वित्तीय अवस्था कमजोर बन्दै गएको गुनासोपछि समस्या सतहमा आएको थियो ।






