Skip to main content

ग्रान्डी स्टार्स फाइनलमा प्रवेश

पाँचौं नखिपोट खुला बास्केटबल प्रतियोगिताको महिला भागमा ग्रान्डी स्टार्सले बलर्सलाई ६१–२२ ले हराउँदै फाइनलमा स्थान बनाएको छ। ग्रान्डीका विनामनि योञ्जनले १८ अंक जोडिन्।

पुरुषतर्फ आईएमएस कीर्तिपुर, इन्जिनियरिङ, नेपाल आर्मी र बूढानीलकण्ठ सेमिफाइनलमा पुगेका छन्। २८ जेठ, काठमाडौं। पाँचौं नखिपोट खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको महिला वर्गमा ग्रान्डी स्टार्सले यो बिहीबार फाइनल प्रवेश गरेको छ। नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको कभर हलमा ग्रान्डीले बलर्सलाई ६१–२२ को फराकिलो अन्तरले पराजित गर्‍यो।

विजेता टोलीका लागि विनामनि योञ्जनले १८ अंक जोडेकी थिइन्। ग्रान्डीले उपाधिका लागि ट्रेनिङ ग्रान्ड र बूढानीलकण्ठबाट विजेता सँग खेल्ने छ। पुरुषतर्फ आईएमएस कीर्तिपुरले डा एरीलाई ७३–६१ ले हरायो भने इन्जिनियरिङले आईएसए नेपाललाई ५८–५३, नेपाल आर्मीले केभीसी हाउन्ड्सलाई ८९–७६ र बूढानीलकण्ठले टाइम्सलाई ४६–४२ ले पराजित गर्दै सेमिफाइनल स्थान सुरक्षित गरेका छन्।

कीर्तिपुरका अभिषेश सिंह र साइरस थापा मगरले समान १६–१६ अंक बनाए भने इन्जिनियरिङका समिर उप्रेतीले २१ अंक, आर्मीका प्रज्ज्वल महर्जनले २४ र बूढानीलकण्ठका विजय लामाले १५ अंक थपे। सेमिफाइनलमा नेपाल आर्मीको भिडन्त बूढानीलकण्ठसँग हुने छ भने इन्जिनियरिङले कीर्तिपुरको सामना गर्ने छ। प्रतियोगितामा शुक्रबार पुरुषतर्फ २ र महिला तर्फ १ गरी तीन वटा सेमिफाइनल खेलिनेछ।