फिफा विश्वकप २०२६: मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै उत्साहजनक सुरुवात गर्यो

फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोल अन्तरले सहज पराजित गर्यो। मेक्सिकोको ऐतिहासिक एज्टेका रंगशालामा भएको खेलमा घरेलु टोली मेक्सिकोले उत्कृष्ट प्रदर्शन गर्दै तीन अंक आफ्नो नाम गर्यो। जुलियन क्विनोनेस र राउल जिमेनेजले एक-एक गोल गर्दै टोलीलाई जित दिलाए। २९ जेठ, काठमाडौं।
खेलको नवौं मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई सुरुवाती अग्रता दिलाए। दक्षिण अफ्रिकाका गोलकिपर रोनवेन विलियम्सले दिएको बललाई डिफेन्डरले नियन्त्रण गुमाउँदा मेक्सिकोले त्यसो फाइदा उठाएर गोल गर्यो। इरिक लिराले दिएको पासलाई जुलियनले गोलमा परिणत गरे। ४२औं मिनेटमा भने उनको प्रहार गोलपोस्टमा ठोकिँदै फर्कियो।
खेलमा ब्राजिलियन रेफ्रीले तीनवटा रातो कार्ड देखाए। ४९औं मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाउँदै मैदान छाड्नुपर्यो जसले गर्दा दक्षिण अफ्रिका टोली १० जनामा सिमित रह्यो। ६७औं मिनेटमा राउल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए। ८४औं मिनेटमा दक्षिण अफ्रिकाका थेम्बा ज्वानेले पनि रातो कार्ड पाउँदा मैदानबाट बाहिरिए।
अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले पनि रातो कार्ड पाउँदै मैदान छाड्नुपर्यो। उद्घाटन खेलमा ३ खेलाडीले रातो कार्ड पाउँदा खेल थप तिखो भयो। यसै खेलमा मेक्सिकोका युवा स्टार गिल्बर्टो मोराले विश्वकपमा डेब्यु गर्दै मेक्सिको र उत्तर अमेरिकाका सबैभन्दा कान्छा खेलाडी बन्ने गौरव हासिल गरे। जितसँगै समूह ‘ए’ मा रहेको मेक्सिकोले ३ अंक जोडेको छ।






