शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई नक्कली पत्रको अनुसन्धानका लागि आग्रह गर्यो

२८ जेठ, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले वाल्मिकी विद्यापीठको नक्कली पत्रको आधारमा १० विदेशी नागरिकलाई भिसा सिफारिस गरिएको घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयलाई पत्र लेखेको छ। बिहीबार उक्त घटनाको खुलासा भएपछि शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई अनुसन्धानका लागि पत्र पठाएको मन्त्रालय स्रोतले जानकारी दिएका छन्।
यसअघि प्रदर्शनीमार्गस्थित वाल्मिकी विद्यापीठ क्याम्पसको नक्कली पत्र प्रयोग गरेर शिक्षा मन्त्रालयले अध्यागमन विभागलाई १० विदेशी नागरिकका लागि भिसा सिफारिस गरेको कुरा बाहिरिएको थियो। शिक्षा मन्त्रालयको सिफारिसपछि अध्यागमनले केही व्यक्तिलाई भिसा पनि जारी गरेको थियो। तर, थप व्यक्तिलाई भिसा जारी गर्न खोज्दा क्याम्पसको पत्र नक्कली रहेको तथ्य पत्ता लागेको थियो।
यस प्रकरणमा अध्यागमन विभागले हालसम्म दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार पक्राउ पर्नेमा क्याम्पसको नक्कली पत्र बनाएर भिसा सिफारिसका लागि मन्त्रालयमा कागजात पठाउने व्यक्ति र एक चिनियाँ महिला रहेका छन्। दुवै व्यक्तिहरूमा वीरगञ्ज घर भनी दाबी गर्ने पीएचडी डाक्टर सुबोध शुक्ला र चिनियाँ महिला छु छियाओ समावेश छन्। बुधबार अध्यागमनले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।






