Skip to main content

पश्चिमी न्यून चापीय रेखाको प्रभावमा देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

२९ जेठ, काठमाडौं। उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) र स्थानीय वायुको प्रभावका कारण नेपालका विभिन्न भागमा वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका अधिकांश हिमाली र पहाडी क्षेत्रहरूमा सामान्यतया बदली छ भने तराई क्षेत्रमा आंशिक बदली देखिन्छ। लुम्बिनी प्रदेशका केही स्थान र कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी तराई भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी र मधेस प्रदेशका केही स्थान तथा देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक दुई स्थानमा पनि वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

आज राति पनि कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने मधेस प्रदेश र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी प्रदेश र बागमती तथा गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभाग र देशका हिमाली क्षेत्रका एक दुई स्थानमा वर्षा तथा हिमपात पनि हुनसक्ने जनाइएको छ। महाशाखाले वर्षा, चट्याङ र हिमपातका कारण दैनिक जनजीवन, कृषि, सडक र हवाई यातायातमा आंशिक प्रभाव पर्ने सम्भावना रहेकाले सबैलाई सतर्क रहन आग्रह गरेको छ।