Skip to main content

ट्रम्पको दाबी: इरानका सर्वोच्च नेताले नयाँ सम्झौतामा सहमति जनाए, सैन्य हमलाहरू रद्द गरियो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातुल्लाह खामेनेईले आणविक हतियार नबनाउने नयाँ सम्झौतामा सहमति जनाएको दाबी गरेका छन्। ट्रम्पका अनुसार, इरानी नेतृत्वसँगको वार्ता उच्चतम स्तरमा पुगेको हुँदा अमेरिकाले इरानविरुद्ध गर्ने भनिएको हवाई हमला र बमबारीको योजना रद्द गरेको छ। यस निर्णयसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ। २९ जेठ, काठमाडौं।

ट्रम्पले व्हाइट हाउसमा एक पत्रकारसँगको कुराकानीमा भने, ‘नयाँ सम्झौतामा इरानले कहिल्यै पनि आणविक हतियार नराख्ने कुरा स्वीकार गरेको छ र सम्झौता हुने बित्तिकै होर्मुज स्ट्रेट खोलिनेछ।’ उनले पहिले इरानमाथि भीषण बमबारी गर्ने र तेस्रो खार्ग टापु कब्जा गर्ने धम्की दिएका थिए। त्यसपछि उनले सामाजिक सञ्जालमार्फत अमेरिकाले इरानविरुद्धका नयाँ हवाई हमला र बमबारी रद्द गरेको जानकारी दिएका छन्।

ट्रम्पले निर्णय परिर्वतन गर्नुको कारण इरानी नेतृत्वसँगको वार्ता उच्चतम तहमा पुगेको बताएका छन्। यद्यपि, उनले भनेका छन् कि सम्झौता पूर्ण रूपमा तय नभएसम्म होर्मुज जलसन्धिमा अमेरिकी नाकाबन्दी कायम रहनेछ। उनले थपे, इरानले मात्र आणविक हतियार विकास नगर्ने होइन, तिनीहरू किन्ने विषयमा पनि सहमति जनाएको दाबी गरेका छन्।

ट्रम्पका अनुसार, प्रारम्भिक सम्झौतामा केवल आणविक हतियार विकास नगर्ने विषय छलफलमा थियो। उनले भने, ‘मैले सोधेँ– किन्ने कुरा समावेश छ कि छैन? उनीहरूले भने थिए छैन। दुई दिनपछि तिनीहरूले यस विषयमा पनि सहमति जनाए। हामीले चाहेको सबै कुरा पायौं।’

ट्रम्पले इरानमाथि प्रस्तावित सैन्य हमला टार्ने निर्णय गरेपछि विश्व बजारमा तेलको मूल्यमा गिरावट आएको छ। शुक्रबार ब्रेन्ट क्रुड तेलको मूल्य १.२१ डलर अर्थात १.३ प्रतिशतले घटेर प्रति ब्यारेल ८९.१७ डलर पुगेको छ। त्यस्तै, अमेरिकी डब्ल्यूटीआई क्रुड तेल १.२३ डलर अर्थात १.४ प्रतिशतले घटेर प्रति ब्यारेल ८६.४८ डलरमा आएको छ। साप्ताहिक आधारमा पनि दुवै मापन सूचकको मूल्यमा गिरावट आएको छ।