नेतन्याहुले भने- म प्रधानमन्त्री रहुञ्जेल इरानसँग परमाणु हतियार हुँदैन

२९ जेठ, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफू इजरायलको प्रधानमन्त्री रहुञ्जेल इरानसँग परमाणु हतियार हुन नदिने दाबी गरेका छन् । शुक्रबार एक्समा अभिव्यक्ति दिँदै नेतन्याहुले यस्तो दाबी गरेका हुन् । ‘यस विषयमा मेरो डोनाल्ड ट्रम्पसँग पूर्ण सहमति छ,’ नेतन्याहुले भनेका छन्, ‘इजरायलले विगत ३० वर्षभन्दा बढी समयदेखि इरानको परमाणु कार्यक्रम रोक्न अन्तर्राष्ट्रिय अभियानमा म सदैव अगाडि रहेको छु ।’
उनले आफ्नो अभियान नहुँदा इरानले पहिले नै इजरायललाई नष्ट गर्न परमाणु बम हासिल गरिसकेको हुने दाबी गरेका छन्, ‘इरान यहुदी राज्यलाई नष्ट गर्ने प्रयासमा छ । म यसलाई रोक्न आफ्नो जीवन समर्पित गरिरहेको छु,’ नेतन्याहुले थपे, ‘जबसम्म म इजरायलको प्रधानमन्त्री छु, तबसम्म यस्तो स्थिति हुन दिने छैन ।’






