
२९ जेठ, काठमाडौं। जाजरकोटको बारेकोट गाउँपालिका कार्यालयमा सात वर्षअघि बम राख्ने आरोपमा नेपाली कम्युनिस्ट पार्टी (विप्लव) समूहका एक कार्यकर्ता पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार पक्राउ पर्नेमा ‘महान्’ उपनामले परिचित खिबहादुर खत्री रहेका छन्।
प्रहरीका अनुसार उनी र अन्य व्यक्तिहरूले २०७६ साल असार ९ गते राति बारेकोट गाउँपालिकाको लिम्सा स्थित कार्यालय भवनमा गाउँपालिका अध्यक्षको ढोकाअगाडि दुई वटा बम (पाइप बम र बट्टा बम) राखेका थिए। त्यसै वर्ष मंसिरमा नलगाड नगरपालिका–५ स्थित बाटोमा बम विष्फोट गराएको मुद्दा पनि उनीमाथि दर्ता रहेको प्रहरीले जनाएको छ।
प्रहरीको प्रेस विज्ञप्तिमा उनी त्यसयता फरार रहेको उल्लेख गरिएको छ। यसैक्रममा उनलाई शुक्रबार दिउँसो जाजरकोटकै भेरी नगरपालिका–३ बाट पक्राउ गरी जाजरकोट जिल्ला अदालतमा पेश गरिएको प्रहरीले बताएको छ।






