Skip to main content

कर्णाली प्रदेशका औद्योगिक क्षमतामा सुधार

चालु आर्थिक वर्षमा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर २.९४ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ। कर्णाली प्रदेशका उद्योगहरूको औसत क्षमता उपयोग अघिल्लो वर्षको तुलनामा बढेर ४४.२५ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार कर्णाली प्रदेशमा भित्रिने पर्यटकको संख्या ५०.०७ प्रतिशतले घटेको छ। २९ जेठ, काठमाडौं। कर्णाली प्रदेशका उद्योगहरूको क्षमता उपयोगमा सुधार आएको छ। गत वर्ष ४०.२२ प्रतिशत रहेको यी उद्योगहरूको औसत क्षमता उपयोग ४४.२५ प्रतिशत पुगेको छ। चालु आर्थिक वर्ष पुससम्म कर्णालीका कागज उत्पादन गर्ने उद्योगहरूले सबैभन्दा बढी शतप्रतिशत क्षमता उपयोग गरेका छन् भने बिजुली उपकरण अन्तर्गत बिजुली तार र केबल उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम ११ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ।

उद्योगका उत्पादनहरूमध्ये अन्न तथा पशुधन, चाउमिन, अन्य लत्ताकपडा, गलैँचा, चिरेको काठ, कागज र बिजुली तार तथा केबल उत्पादन गर्ने उद्योगको उत्पादन बढेको छ भने प्रशोधित दूध र छाला जुत्ता उत्पादन गर्ने उद्योगको उत्पादन घटेको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर २.९४ प्रतिशत रहने प्रारम्भिक अनुमान छ। यस प्रदेशको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ३१.५२ प्रतिशत, १०.०७ प्रतिशत र ५८.४१ प्रतिशत रहने अनुमान गरिएको छ। चालु आव पुस मसान्तसम्म कर्णालीमा खाद्यबालीले ढाकेको भूक्षेत्र अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.३७ प्रतिशतले वृद्धि भएको छ।

प्रमुख खाद्य बालीमध्ये धानले ढाकेको क्षेत्रफलमा २.९४ प्रतिशतले ह्रास आएको छ भने मकै, गहुँ, कोदो, जौ र फापर बालीले ढाकेको क्षेत्रफल क्रमशः ०.३१, ०.२५, ०.२५, ११.१७ र २.४९ प्रतिशतले वृद्धि भएको छ। त्यसैगरी तरकारी तथा बागबानी बालीले ढाकेको क्षेत्रफलमा ०.२५ प्रतिशतले वृद्धि भएको छ भने फलफूल खेतीले ढाकेको क्षेत्रफल ४.५१ प्रतिशतले वृद्धि भएको छ। कर्णालीमा समग्र कृषि बाली उत्पादन गत आव पुस मसान्तसम्मको तुलनामा ०.०५ प्रतिशतले घटेको छ। तर यसअन्तर्गत खाद्य, नगद तथा अन्य बालीको उत्पादन भने २.०६ प्रतिशतले बढेको छ।