Skip to main content

इरान र अमेरिका बीच शान्ति सम्झौतामा हस्ताक्षर गर्ने मिति स्पष्ट नभएको

३० जेठ, काठमाडौं। इरानको विदेश मन्त्रालयले अमेरिका र इरानबीच आइतबार नै शान्ति सम्झौतामा हस्ताक्षर नहुने स्पष्ट पारेको छ। विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सम्झौता आगामी केही दिनभित्र हुन सक्ने भए पनि अहिलेसम्म मिति निश्चित नभएको बताएका छन्। यसअघि पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले २४ घण्टाभित्रै सम्झौता हुन सक्ने र अनलाइनमार्फत हस्ताक्षर हुने दाबी गरेका थिए।
युद्ध अन्त्य गर्ने मात्र उद्देश्य, आणविक मुद्दामा पछि छलफल गर्ने प्रवक्ता बघाईका अनुसार पाकिस्तानको मध्यस्थतामा तयार भइरहेको यो सम्झौताको मुख्य उद्देश्य हाल जारी युद्धको अन्त्य गर्नु हो। यसमा तत्काल आणविक मुद्दामा कुनै छलफल हुने छैन। अमेरिकाले आफ्नो अडान बारम्बार परिवर्तन गरिरहेका कारण सम्झौतालाई लिएर अझै सावधानी अपनाउनुपर्छ भनी इरानले बताएका छन्।
अर्कोतर्फ, इरानी विदेशमन्त्री अब्बास अराघचीले दुवै देश सम्झौतामा निकै नजिक पुगेको उल्लेख गर्दै सम्झौताका सर्तहरूबारे अनुमान नलगाउन मिडियालाई आग्रह गरेका छन्। उनले १४ जुनमा जेनेभामा सम्झौता हुने भन्ने खबरलाई समेत खारेज गरेका छन्। प्राप्त जानकारीअनुसार, यो अन्तिम शान्ति सम्झौता हुनेछैन। सुरुमा दुवै देशले एक समझदारी पत्रमा हस्ताक्षर गर्नेछन्। त्यसपछि आगामी ६० दिनसम्म प्राविधिक चरणको वार्ता हुनेछ, जसमा आणविक कार्यक्रम, प्रतिबन्ध फुकुवा र होर्मुज स्ट्रेटको सञ्चालनबारे विस्तृत छलफल हुनेछ।
होर्मुज स्ट्रेट र पानीजहाजमाथिको आक्रमणले तनाव बढाएको छ र सम्भावित सम्झौताको चर्चा भइरहँदा पनि होर्मुज स्ट्रेटको सुरक्षा र नियन्त्रणलाई लिएर विवाद कायमै रहेको छ। इरानी सेनाले उक्त स्ट्रेटमा आफ्नो पूर्ण नियन्त्रण रहेको दाबी गरेको छ। विदेशमन्त्री अराघचीले सम्झौतापछि होर्मुज स्ट्रेट पहिलेको जस्तो नहुने र पानीजहाजहरूका लागि नयाँ नियम र सेवा शुल्क लागू हुन सक्ने सङ्केत गरेका छन्। इरानी संसदले यसको व्यवस्थापनका लागि नयाँ कानुनसमेत तयार गरिरहेको छ।
यसैबीच, होर्मुज हुँदै जाने भारतीय पानीजहाजमाथि आक्रमणले कूटनीतिक तनाव बढाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले भारतीय जहाजमा ड्रोन आक्रमण गर्न खोजेको र त्यसलाई अमेरिकी सेनाले विफल पारेको दाबी गरेका छन्। युरेनियम लुकाएको आरोप र इरानको आन्तरिक मतभेदबारेका अमेरिकी गुप्तचर रिपोर्टलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएअनुसार, इरानले इस्फान आणविक केन्द्रमा रहेको उच्च संवर्द्धित युरेनियमको भण्डारलाई अमेरिकी नियन्त्रणबाट बचाउन सुरुङहरू ढालेर विस्फोटक माइनहरू राखेको छ।
इरानभित्र पनि यो सम्झौतालाई लिएर मतभेद छन्। इरानका कट्टरपन्थी गुटहरूले होर्मुज स्ट्रेट खोल्न र अमेरिकालाई छुट दिन कडा विरोध गरिरहेका छन्। इरानका प्रधानन्यायाधीश लगायतका शीर्ष अधिकारीहरूले अमेरिकाप्रति कुनै विश्वास नरहेको बताएका छन् भने धर्मगुरुहरूले वार्ता टोलीलाई देशका सर्वोच्च नेताको निर्देशनबाहिर नजान चेतावनी दिएका छन्।
दुवै देशलाई चाहिएको छ ‘जित’। इरानले रोक्का रहेको आफ्नो अर्बौं डलरको सम्पत्ति फुकुवा हुने अपेक्षा गरेको छ। यद्यपि अमेरिकी उपराष्ट्रपति जेडी भेन्स र अन्य अधिकारीहरूले भनेका छन् कि इरानले आफ्ना सबै दायित्व पूरा नगरेसम्म कुनै आर्थिक राहत पाउनु छैन। अन्तर्राष्ट्रिय राजनीतिका विश्लेषकहरूका अनुसार अमेरिका र इरान दुवै यस सम्झौतालाई आफ्नो घरेलु राजनीतिमा ‘जित’को रूपमा प्रस्तुत गर्न चाहन्छन्। ट्रम्प होर्मुज स्ट्रेट खुला भएको देखाउन चाहन्छन् भने इरान अमेरिकी प्रतिबन्ध हटेको देखाउन चाहन्छ। ह्वाइट हाउसले सम्झौता छिट्टै हुने विश्वास व्यक्त गरेको भए पनि सर्तहरूसँग सम्बन्धित संशय अझै बाँकी छ।