जापानमा हुने २०औँ एसियाली खेलकुदका लागि पुरुष र महिलातर्फ समान तीन–तीन टेबलटेनिस खेलाडी छनोट भएका छन्। लैनचौरमा भएको छनोट प्रतियोगिताबाट पुरुषतर्फ संयोग कपाली प्रथम, रुबिन महर्जन द्वितीय र गणञ्जय दाहाल तृतीय हुँदै छनोट भए। महिलातर्फ नविता श्रेष्ठ पहिलो, इभाना थापा दोस्रो र योङ्गी पौडेल तेस्रो बन्दै छनोट भएका छन्।
३० जेठ, काठमाडौं। जापानको आइची–नागोयामा २०२६ सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म हुने २० औं एसियाली खेलकुदका लागि टेबलटेनिस खेलाडी छनोट प्रतियोगिता शनिबार राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा सम्पन्न भएको छ। अखिल नेपाल टेबलटेनिस संघले आयोजना गरेको दुईदिने छनोट प्रतियोगिताबाट समान ३–३ पुरुष/महिला खेलाडी छनोट गरिएको टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनले जनाएका छन्।
छनोट प्रतियोगितामा यही जेठमा भएको ४२ औँ राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा पुरुष÷महिला एकलतर्फ शीर्ष ८–८ स्थानमा रहेका खेलाडीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्की नवनियुक्त कार्यकारी सदस्य सिक्का सुवाल श्रेष्ठ रहेकी थिइन्। सो अवसरमा अखिल नेपाल टेबलटेनिस संघले उनलाई बधाई दिदै सम्मान गरेको थियो। कार्यक्रममा अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, महासचिव कुबेरप्रकाश सिंहलगायतको उपस्थिति रहेको थियो।

