अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि आइतबार सम्झौतामा हस्ताक्षर गर्न लागिएको समयमा इरानमा त्यसविरुद्धका प्रदर्शन भइरहेका छन्। तर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीचको लडाइँ अन्त्यका लागि आइतबार सम्झौतामा हस्ताक्षर हुने बताएका छन्। इरानले हस्ताक्षरको मितिमा अनिश्चय देखाएपछि ट्रम्पले समय तोकेका हुन्। एउटा मुख्य मध्यस्थकर्ता पाकिस्तानले पनि २४ घण्टाभित्र सम्झौतालाई अन्तिम रूप दिने आशा व्यक्त गर्दै आफूहरूले “विद्युतीय हस्ताक्षरको तयारी” गरिरहेको जनाएको छ।
ट्रम्पले टिप्पणी गर्नुअघि इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले समय सीमाबारे सावधानी प्रकट गर्दै शनिबार भनेका थिए, “हामीले सम्झौता पत्रमा हस्ताक्षर गर्ने निश्चित मितिको प्रतीक्षामा छौं, तर यो भोलि (आइतबार) हुने छैन।” सामाजिक सञ्जालमा राखेको पोस्टमा ट्रम्पले शनिबार लेखेका छन्, “सम्झौतामा भोलि हस्ताक्षर हुने तालिका छ र यसपछि होर्मुज स्ट्रेट सबैका लागि खुला हुनेछ।”
सम्झौताको खबरसँगै इरानमा विरोध प्रदर्शनको कारण के हो? बीबीसी पर्शियन सेवा अनुसार इरानमा सम्झौताका केही विरोधीहरूले यसविरुद्ध प्रदर्शन गरेका छन् र विदेशमन्त्री अब्बास अराग्ची र संसदका सभामुख मोहम्मद बगर गालिबाफविरुद्ध नारा लगाएका छन्। उक्त प्रदर्शन तेहरानको इब्न सिना स्क्वायरमा आयोजना भएको थियो र सहभागी प्रदर्शनकारीहरू इरानको कट्टरपन्थी र अतिवादी संगठन “पर्सिस्टेन्स फ्रन्ट” निकट रहेको बताइएको छ। विदेशमन्त्री अब्बास अराग्चीले अमेरिकासँग सम्भावित सम्झौताबारे दिएको अभिव्यक्तिको विरोधमा शनिबार साँझ पनि दर्जनौँ मानिसहरू विदेश मन्त्रालयको भवन अगाडि भेला भएका थिए।
ट्रम्पले अहिलेको सम्झौता तयारी अघि नबढे कडा कदम चाल्ने चेतावनी दिएका छन्। उनले भनेका छन्, “चीजहरू छिटो, सजिलै र सहज रूपमा काम गरेन भने वाशिङ्टनसँग अन्तिम विकल्प हुनेछ, आशा छ यसलाई फेरि कहिल्यै प्रयोग गर्नुपर्दैन।” यसअघि शनिबार पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भनेका थिए, “हामी शान्ति सम्झौतासँग निकै नजिक पुगेका छौं, जहाँ यसअघि कहिल्यै पुगेका थियैनौं।”

