Skip to main content

रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित, दोस्रो चरणको चुनाव भएन

विजयी भएका शालिकराम (बायाँ) र उनलाई समर्थन गरेका गोपाल। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो लुम्बिनी प्रदेश अधिवेशनबाट सभापति पदमा शालिकराम घिमिरे निर्वाचित भएका छन्। पहिलो चरणमा ५१ प्रतिशत मत नपुगे पनि निकटतम प्रतिस्पर्धी गोपाल घिमिरेले समर्थन गरेपछि शालिकराम सभापति चयन भएका हुन्। अधिवेशनका प्रतिनिधिहरू फर्किसकेकाले अन्य पदाधिकारी सहमतिका आधारमा चयन गर्न गृहकार्य भइरहेको नेताहरूले बताएका छन्। ३१ जेठ, बुटवल।

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम लुम्बिनी प्रदेश अधिवेशनबाट सभापति पदमा शालिकराम घिमिरे निर्वाचित भएका छन्। पहिलो चरणको निर्वाचनमा सभापति पदका लागि ६ जनाबीच प्रतिस्पर्धा भएकोमा शालिकराम घिमिरेले सबैभन्दा बढी १९९ मत पाएका थिए। उनले ५१ प्रतिशत मत नपाएपछि निकटतम प्रतिस्पर्धी गोपाल घिमिरेसँग दोस्रो चरणको निर्वाचन गर्ने भनिएको थियो। तर, गोपालले शालिकरामलाई समर्थन जनाएपछि निर्वाचन नगरी शालिकरामलाई सभापतिमा निर्वाचित भएको घोषणा गरिएको रास्वपा नेता डा. बुद्धिप्रसाद शर्माले बताए।

सभापति पदका लागि ६ जना बीच भएको चुनावमा रुपन्देहीका शालिकराम घिमिरेले १९९, अर्घाखाँचीका गोपाल घिमिरेले ८७, रुपन्देहीका गणेश पौडेलले ८४, बाँकेका डा. राजकुमार सुवेदीले ८०, रुपन्देहीकी मञ्जु भुसालले ७१ र रुपन्देहीका मधुप्रसाद अर्यालले सबैभन्दा कम १९ मत प्राप्त गरेका थिए। मतदानमा ८४३ मतदाता रहेकामा ५५२ मत मात्र खसेको थियो। अब उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री र कोषाध्यक्ष पदमा सहमति जुटाउने प्रयास भइरहेको नेता शर्माले बताए।

अधिवेशनका प्रतिनिधिहरु अधिकांश घर फर्केका र मतदान स्थलमा नगण्य संख्यामा मात्र प्रतिनिधि रहेकाले मतदान हुने नहुने अनिश्चित भएको रास्वपा नेता सहयोगी बीसीले बताए। अधिवेशनका प्रतिनिधिहरु लाखापाखा लागिसकेकाले सभापतिमा जस्तै अन्य पदाधिकारीमा पनि सहमतिबाट नेतृत्व चयनको प्रयास भइरहेको वीसीले बताए। प्रदेश प्रवक्ता भने मनोनित गर्ने व्यवस्था छ। अधिवेशनमा सहभागी प्रतिनिधिहरुले भने अधिवेशनको बन्दसत्रमा पार्टीको नीति, सिद्धान्त, विचार बारे कुनै छलफल नभएको गुनासो गरेका छन्।