राष्ट्रिय समाजवादी पार्टी (रास्वपा) केन्द्रीय निर्वाचन आयोगले प्रक्रियागत त्रुटिका कारण कैलाली जिल्लाको अधिवेशनको निर्वाचन प्रक्रिया र नतिजा रद्द गरेको छ। २५ जेठमा सम्पन्न उक्त अधिवेशनबाट जिल्ला सभापतिमा कविन्द्र ठकुल्ला विजयी भएका थिए। ठकुल्लाले ३३५ मत पाउँदा उनका प्रतिस्पर्धी महेशकुमार चौधरीले ३७ र हरि रेग्मीले २२ मत प्राप्त गरेका थिए।
रास्वपा कैलालीको जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र नतिजा रद्द गरिएको छ। रास्वपा केन्द्रीय निर्वाचन आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा प्रक्रियागत त्रुटि भए पनि जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र नतिजा रद्द भएको जनाइएको छ। अधिवेशनका क्रममा सम्पन्न निर्वाचन प्रक्रिया र त्यसको वैधता सम्बन्धी जिल्ला उम्मेदवार तथा पार्टीका सदस्यहरूले प्रमाणसहित दर्ता गरेका उजुरीहरू केन्द्रीय निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षणमा आएका छन्।
“उक्त निर्वाचन प्रक्रियाप्रति कैलाली जिल्लाका माननीयज्यूहरूको असहमति र सल्लाहको बाबजुद विधि र विधान विपरित अवैधानिक रूपमा निर्वाचन सम्पन्न भएको पाइयो। प्रारम्भिक उजुरी र प्रमाणहरूको अध्ययनबाट त्यहाँ लोकतान्त्रिक निर्वाचनका न्यूनतम विधि, प्रक्रिया र मापदण्डहरू पालन नभएको स्पष्ट पुष्टि भएको छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

