‘नेपालमा पश्चिमी रणनीतिक प्रभाव बढ्ने चिन्ता रहेको छ : चीनले जनाएको सावधानी’
परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने चीन भ्रमणमा निस्कँदै छन्। रास्वपा नेतृत्वको नयाँ सरकार गठन भएपछिको नेपालतर्फबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो। बदलिएको परिस्थितिमा चीनले नेपालसँगको आगामी सम्बन्ध कसरी अघि बढाउने छ? चीनका नेपालप्रतिको चासो र मुख्य सरोकारहरू के-के छन्? विकासका पूर्वप्रतिबद्धताहरू अब कसरी अघि बढ्नेछन्? यसै सन्दर्भमा चीनको सिचुवान विश्वविद्यालयका अन्तर्राष्ट्रिय अध्ययन विद्यालयका सह–डिन तथा दक्षिण एशिया अध्ययन केन्द्रका संयोजक हुआन युनसोङसँग दुर्गा खनालले गरेको अन्तरवार्तामा चीनले हाल नेपालसँगको सम्बन्धलाई कसरी हेरिरहेको छ भन्ने विषय उठाइएको छ।
चीनले नेपालसँगको सम्बन्धलाई विकास र समृद्धिको लागि चिरस्थायी मित्रता सहितको परिपक्व, दिगो रणनीतिक सहकार्य र साझेदारीको रुपमा लिन्छ। सात दशकभन्दा बढी समयदेखि हाम्रो सम्बन्ध पारस्परिक विश्वास, सार्वभौम समानता र आन्तरिक मामिलामा हस्तक्षेप नगर्नेमा जोड दिने शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरूमा आधारित छ। चीनले नेपालले एक-चीन सिद्धान्तप्रति निरन्तर प्रतिबद्धता जनाएकोमा प्रशंसा गर्दै आएको छ। द्विपक्षीय सम्वन्धलाई देशको आकार वा राजनीतिक प्रणालीका भिन्नताभन्दा माथि उठ्ने छिमेकी कूटनीतिको एक नमूनाका रूपमा चीनले हेर्छ।
चीनको मुख्य चिन्ता सम्भावित नीतिगत अस्थिरता र नयाँ सरकार पश्चिमी रणनीतिक प्रभाव विस्तारप्रति संवेदनशील हुन सक्ने सम्भावनासँग सम्बन्धित रहेको छ। नेपाललाई अमेरिकी इन्डो–प्यासिफिक रणनीति जस्ता नियन्त्रणमुखी रणनीतिसँग जोड्ने कुनै पनि झुकावप्रति बेइजिङ सतर्क छ। साथै आन्तरिक लोकप्रियतावादी दबाबहरूले महत्वपूर्ण द्विपक्षीय पूर्वाधार सम्झौताहरू कार्यान्वयनमा ढिलाइ हुनसक्ने पनि चिन्ता रहेको छ।
परराष्ट्रमन्त्री खनालको चीन भ्रमणका क्रममा मुख्य ध्यान राजनीतिक पारस्परिक विश्वास अभिवृद्धि गर्ने, व्यावहारिक सहकार्यलाई गहिरो बनाउने र उच्च गुणस्तरीय बेल्ट एन्ड रोड साझेदारीलाई अगाडि बढाउनेमा केन्द्रित हुनेछ। प्रमुख प्राथमिकताहरूमा पूर्वमै सहमति भएका पूर्वाधार परियोजनाहरूको व्यवहारिक कार्यान्वयन प्रक्रिया स्पष्ट पार्ने, केरुङ–काठमाडौं सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन पुनरावलोकन गर्ने तथा चिनियाँ प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन गर्ने विषयहरू समावेश छन्।

